२०८३ वैशाख ७ , सोमबार 20, April 2026, Monday

२५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा, देवताको रक्षार्थ खुसीयालीको पर्व

सत्यपाटीसत्यपाटी । काभ्रेपलान्चोक । २०८३ वैशाख ७ गते सोमबार

काभ्रेपलान्चोकको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार ५०१ वर्षदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेष गरी नेवार समुदायले हरेक वर्षको वैशाख पूर्णिमादेखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर्दछन् । बनेपामा यही वैशाख १८ गते चण्डी पूर्णिमादेखि द्वितीयासम्म जात्रा मनाइँदैछ । तीन दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपावासीका लागि यो जात्रा महान् पर्वका रूपमा लाग्ने गर्दछ ।

केही दिनयता जात्रा व्यवस्थापन समिति र स्थानीय जात्राको तयारीमा जुटेका छन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिन्छ । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरबार (खड्ग) सँगै जात्रामा सरकारको तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकामा गर्व गर्छन् ।

जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ । बूढापाकाले टोलटोलमा बसी भजन गाउँछन् भने जात्रा अवधिभर यहाँका सडक, गल्लीमा भिडभाड हुने गर्दछ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय श्याम मानन्धर बताउँछन् । उनका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरू ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । जात्राअन्तर्गत पहिलो दिन बिहान सबेरै बनेपादेखि पुण्यश्वर महादेवसम्म मत पूजा अर्थात् चिराग यात्रा गरिन्छ ।

धिमे, नाय्खिं, छुस्या लगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आआफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गर्ने प्रचलन छ । जात्राको विधिअनुसार तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाहरूले बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्याउँछन् ।

यस क्रममा रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरूलाई नेवारी भाषामा ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम हुन्छ । यस्तै हरेक घरमा तयार पारिएका प्रसादहरू झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई पुनः खटमा राखिन्छ । दोस्रो दिन बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको बध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास अनुसार रथ पुर्याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा गरी बलि दिने परम्परासमेत रहेको छ ।

जात्राको सुरुदेखि नै तोकिएको धार्मिक पीठमा बलि दिइन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पुर्याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने गरिने परम्परा रहिआएको छ । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिने गर्छ । जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरूलाई १२ वटा बोका बलि दिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशी (तोकिएका जातजाति)लाई दिइने प्रचलन छ । बाँकी बोकाको मासु ‘कलंदान’ गरिँदै आइन्छ ।

कलंदान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको हो । चण्डेश्वरी जात्राको महत्त्व ठुलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घसंस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरू पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् भन्ने मान्यता छ ।

यस जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि रहेको छ । किंवदन्ती अनुसार करिब दुई हजार ५०० वर्ष अगाडि दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरू (देवता) भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगेको बताइन्छ ।

स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरूको भागाभाग भई ज्यान जोगाउन पन्छीको रूपधारण गरी उक्त वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन् । त्यसपछि उनी भगवतीको रूपमा प्रकट भएर चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसीयालीमा जात्रा मनाइँदै आएको जनविश्वास छ ।

प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार