म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको पाउद्वार मुर्ताला धार्मिक गुफा पर्यटक र पूर्वाधारको पर्खाइमा छ । स्थानीयवासीले ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामकरण गरेको यस गुफाभित्र अनौठा दृश्यहरू अवलोकन गर्न सकिन्छ । पाउद्वारका बासिन्दा जसे पुनका अनुसार दुईतले गुफाभित्र विभिन्न देवीदेवता, मानिसको शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुर, सिङजस्ता आकृतिहरू अवलोकन गर्न सकिन्छ, तर यो गुफा ओझलमा परेको छ ।
‘गुफाभित्र मूर्तिकारले पहाडको चट्टान कुँदेर बनाएजस्ता विचित्रका दृश्यहरू देख्दा अनौठो लाग्छ,’ उनले भने, ‘स्थानीय स्तरमा सीमित यो गुफाको धार्मिक तथा ऐतिहासिक महत्त्वको विषयमा अध्ययन, संरक्षण, व्यवस्थापन, पूर्वाधार निर्माण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न हामी पाउद्वारवासी जुटेका छौँ ।’ यहाँ गणेश, शिव लगायत हिन्दु धर्मावलम्बीहरूका देवीदेवताका आकृतिहरू पनि भेटिन्छन् ।
तपतप गरेर पानी चुहिरहने यो गुफा करिब १० मिटर लामो भएको स्थानीय बताउँछन् । गुफाभित्र अँध्यारो हुने भएकाले बत्ती अथवा टर्चलाइट बाल्नुपर्छ । टेक्ने भुइँ चिप्लो र गुफा होचो भएको हुँदा घोप्टो परेर हिँड्नुपर्छ र अवलोकन गर्दा सावधानी अपनाउनुपर्छ । स्थानीयवासीबाहेक बाहिरका पर्यटकहरू हालसम्म यस गुफाको अवलोकन गर्न नआएको पुनले बताए । पाउद्वार गाउँदेखि सवारीसाधनमा १० मिनेट र त्यसपछि २० मिनेट पैदल हिँडेपछि झारवाङको छेउमा रहेको यस गुफामा पुगिन्छ ।
यसअघि गुफासम्म पुग्ने पदमार्ग थिएन, निगालोको झ्याङ समाएर गुफासम्म पुग्नुपर्ने अवस्था थियो । गुफा नजिकको झारवाङ खोलामा पुल पनि थिएन । तर, अहिले पाउद्वारकी पुर्जा रोकाले आफ्नी आमा जैसराले पाउने ‘पेन्सन’ बापतको रकम खर्चेर गुफासम्म जाने करिब ३०० मिटर पदमार्ग निर्माण गरिदिएकी छन् । उक्त पदमार्ग निर्माणमा पाउद्वारवासीले श्रमदान गरेका छन् । त्यस्तै, झारवाङदेखि गुफासम्म ५०० मिटर तार तानेर विद्युत् पनि विस्तार गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. तीन लाख बजेटबाट झारवाङ खोलामा आठ मिटर लामो ट्रस पुल निर्माण भएको छ । गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी पुनले उक्त गुफाभित्रका आकृतिहरू देखेर अनौठो महसुस भएको बताइन् । गुफाको विषयमा विस्तृत अध्ययन–अनुसन्धान गरेर धार्मिक र ऐतिहासिक तथ्यहरूको खोजी थालिएको पनि उनले बताइन् । त्यहाँका बासिन्दाले केही दिनअघि मात्रै उक्त गुफालाई ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामकरण गरेका हुन् ।
सत्यपाटी