सूचनाको शक्ति - The Power Of Information

        

पाथीभरामा केबलकार विवाद

२५० वर्षदेखि कसरी भइरहेको छ मुक्कुमलुङको अतिक्रमण ?

मुक्कुमलुङलाई विशेषतः लिम्बू समुदायले मुन्धुमी पवित्र धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा मान्छन् ।

ताप्लेजुङको पाथीभरा क्षेत्र अर्थात् मुक्कुमलुङमा केबलकार निर्माण बनाउने विषयलाई लिएर विवाद उत्कर्षमा पुगेको छ । गत शनिबार उक्त क्षेत्रमा झडप र गोली प्रहार भयो । झडपमा प्रहरीले गोली चलाउँदा चारजना प्रदर्शनकारी घाइते भए । प्रदर्शनकारीको ढुंगामुडाले केही प्रहरी समेत घाइते भए । प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन् ।

यामबहादुर, धर्मान र सगुन लावतीमाथि प्रहरीले चलाएको गोली लागेको थियो । गोली लागेर घाइते भएका तीनजनाको अहिले कांठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । त्यसरी गोली चलाएपछि यतिखेर प्रहरीको चर्को विरोध भइरहेको छ । त्यसपछि यो विवाद झनै चर्किँदै गएको छ । ‘नो केबलकार’ पक्षधरहरूले सात बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ ।

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक छन् । सोही अनुसार पहिलो दिन मंगलबार मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पनि विज्ञप्ति जारी गरेर उक्त घटनाको भर्त्सना गर्दै र केबलकार निर्माण अविलम्ब बन्द गर्न माग गरेको छ ।

यता किरात राई विद्यार्थी संघले संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ । पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै नो केबलकार पक्षधरले गत कात्तिकमा पनि विरोध गरेका थिए । कात्तिक २३ गते केबलकार निर्माण कम्पनी, संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन लगायतले निर्माणस्थलमा पाथीभराको फोटो राखेर शिलान्यास गरेका थिए । त्यसपछि विवाद र झडप भएको थियो ।

बाह्य हस्तक्षेपको महसुस

पाथीभरामा केबलकार निर्माणको विषयले विकास र पहिचानको बहस चर्काएको छ । केबलकार निर्माण पक्षले स्थानीय अर्थतन्त्र र धार्मिक पर्यटनमा टेवा पुग्ने तर्क गरेका छन् । उनीहरूले केबलकारले पाथीभरा जाने यात्रुलाई सहज बनाउँदै ताप्लेजुङलाई आर्थिक रूपमा समृद्ध बनाउने दाबी गरेका छन् । तर, विरोधमा उभिएका नो केबलकार पक्षधरले केबलकार निर्माणले पाथीभरा क्षेत्रको धार्मिक र सांस्कृतिक पहिचानलाई नष्ट गर्ने दाबी गरेका छन् ।

उनीहरूका लागि केबलकार एउटा विकास परियोजना नभई आफ्नो अस्तित्व र सांस्कृतिक पहिचान नामेट गर्ने थालनी पनि हो । नो केबलकार पक्षधरले केबलकार परियोजना बाह्य हस्तक्षेपको रूपमा समेत लिएको छ । मुक्कुमलुङजस्तो सांस्कृतिक र धार्मिक महत्वको क्षेत्रमा परियोजना ल्याउँदा स्थानीयलाई बेबस्ता गरेको उनीहरूको आरोप छ ।

गोली खान किन तयार ?

मुक्कुमलुङबासीहरू अहिले आफ्नै सभ्यताको काखमा रक्ताम्मे भएका छन् । मुक्कुमलुङको शिरलाई ढाक्नेहरू कोही छातीमा गोली बोकेर अस्पतालको श्यामा छन् । कोही सडकमा छन् । यता, केबलकार पक्षधर मुक्कुमलुङमा केबलकार पुर्याउन विकास भएको दाबी गरिरहेका छन् । पाथीभरालाई लिम्बू मुन्धुमअनुसार मुक्कुमलुङ भनिने गरिएको छ । यसलाई विशेषतः लिम्बू समुदायले मुन्धुमी पवित्र धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा मान्छन् ।

यो किराती समुदायको पवित्र सांस्कृतिक धरोहर र मुन्धुमी स्थल पनि हो । मुक्कुमलुङमा दुईवटा शब्दको संयोजन छ, ‘मुक्कुम’ र ‘लुङ’ । ‘मुक्कुम’को अर्थ अग्नि वा शक्ति हुन्छ भने ‘लुङ’को ढुङ्गा, शिला वा चट्टान हुन्छ । त्यसैले मुक्कुमलुङ भनेको अग्निपुञ्ज, शक्तिपुञ्ज वा शक्तिदायिनी शिला, चट्टान हो । मुक्कुमलुङलाई याक्थुङ पुरोहित फेदाङमा, साम्बा, येबाहरूले मुन्धुम फलाक्दा मुक्कुमलुङ माङ, सेमुक्तु मुक्तुबो माङ, सेमुक्तु मुक्तुबुङ, मुक्तिगोःक्, चेप्तीगोःक्, मुक्तीफो माङ आदि विभिन्न नामले पुकारेको पाइन्छ ।

मुक्कुमलुङको अतिक्रमण कसरी भयो ?

मुक्कुमलुङको अतिक्रमण आजभन्दा २५० वर्ष अघिदेखि सुरु भएको पाइन्छ । विसं. १८३१ मा लिम्बुवान र गोरखालीबिच भएको सम्झौताबाट लिम्बुवान गोरखा राज्यमा गाभियो । त्यसपछि लिम्बुवानमा गोरखाली सेना र प्रहरी व्यापक परिचालन भए । व्यापार व्यवसाय र प्रशासनिक संयन्त्रमा काम गर्ने भनेर अन्य समुदायहरूको पनि प्रवेश भए ।

कतिपय ब्राह्मणहरूले केन्द्र सरकारबाट बिर्ता पाएर अड्डा जमाउन थाले । त्यसपछि इम्बिरी याङ्धाङवा क्षेत्रका ठाउँहरूको नाम खस नेपाली भाषामा परिवर्तन गर्न थालियो । यही क्रममा मुक्कुमलुङलाई रक्तकाली, पञ्चकाली र पाथीभरा नामकरण मात्र गरिएन, त्यहाँ हिन्दू देवीदेवताहरू पार्वती, गणेश, सरस्वतीका मूर्ति स्थापना गरिए । यस्ता कार्यले मुक्कुमलुङको मुन्धुमी सभ्यता विस्थापित हुँदै आएको छ ।

लिम्बुवान गोरखा राज्यमा गाभिएपछि मुक्कुमलुङमाथिको अतिक्रमण अझै रोकिएको छैन । अहिले त्यस क्षेत्रमा केबलकार निर्माणको सुरुवात पनि त्यसैको निरन्तरता हो । राणा शासन, पञ्चायत, राजतन्त्रमा आफ्नो सभ्यतामाथि अतिक्रमण हुँदा लिम्बूहरू सहन बाध्य भए । तर, देशका संघीय लोकतान्त्रिक गणतन्त्र आउँदा पनि मुक्कुमलुङमाथिको अतिक्रमण रोकिएको छैन । आफ्नो सभ्यता नै मास्न लागेपछि अहिले मुक्कुलमलुङबासी मुक्कुमलुङलाई बचाउन जुर्मुराएका छन् ।

मुक्कुमलुङको छाती चिरेर शिरमाथि केबलकार निर्माण गर्न लागेपछि उनीहरू राज्यको गोली खान समेत तयार भएका छन् । मुक्कुमलुङको अस्तित्वलाई जोगाउन ‘नो केबलकार’ नारा घन्किन थालेको छ । सांस्कृतिक अतिक्रमणविरुद्ध उत्रिएका छन् । यो मुक्कुमलुङमाथिको मात्रै अतिक्रमण होइन, आदिम लयमा बाँचेका तमाम आदिवासीहरूको प्रहार पनि हो । जसको आफ्नै भूमि, संस्कृति र सभ्यतामा राज्यले आफ्नो नीति नियम लागू गरेर दमन गरिरहेको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार २०:३९

लोकप्रिय