२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

बाँकेका भैंसीपालक किसान यादवलाई उत्कृष्ट कृषक पुरस्कार

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ जेठ २४ गते आइतबार

बाँकेको डुडुवा गाउँपालिका–३, हल्कारापुर्वा गाउँका रामसुहावन यादवलाई राष्ट्रपतिबाट उत्कृष्ट कृषक पुरस्कार २०८२ प्रदान गरिएको छ । जिल्लाकै सबैभन्दा बढी भैंसीपालन हुने गाउँका रूपमा परिचित उक्त क्षेत्रमा २० वर्षदेखि व्यावसायिक रूपमा भैंसीपालन तथा डेयरी व्यवसाय गर्दै आएका यादवलाई उक्त सम्मान प्रदान गरिएको हो ।

राष्ट्रपतिबाट दुई लाख रुपैयाँ नगदसहितको उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेपछि यादव अहिले उत्साहित छन् । पुरस्कार ग्रहण गरेर गाउँ फर्किएका उनले खुशी व्यक्त गर्दै भने, ‘मेरो पुर्खौंदेखिको व्यवसायलाई सरकारले उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट कृषक घोषणा गरेपछि अत्यन्त खुसी छु । अरुलाई पनि मिहिनेतका साथ व्यावसायिक रूपमा पशुपालन गर्न आग्रह गर्छु । यस क्षेत्रमा भविष्य राम्रो छ ।’

यादवले आफ्नो फार्ममार्फत हाल पाडापाडीसमेत गरी करिब १५० वटा भैंसी पालेका छन् । उनको फार्मबाट दैनिक ३०० देखि ४०० लिटर दूध उत्पादन हुन्छ, जुन कम्दीस्थित मिलनचोक हुँदै नेपालगन्जसम्म आपूर्ति हुने गरेको छ । भैंसीपालनदेखि दूध व्यवस्थापनसम्ममा परिवारका सदस्यहरू छोराछोरी, बुहारी र नातीनातिनासमेत सक्रिय रूपमा संलग्न रहेको उनले बताए ।

उनको दैनिकी बिहान तीन बजेदेखि सुरु भई साँझ अबेरसम्म भैंसीकै हेरचाहमा बित्ने गरेको छ । पुस्तौँदेखि चल्दै आएको पेसालाई निरन्तरता दिँदै उनी गाउँकै सबैभन्दा ठुलो भैंसीपालक किसानका रूपमा स्थापित भएका छन् । यादवले पुरस्कार रकमबाट राम्रो दूध दिने थप एक भैंसी खरिद गर्ने योजना रहेको बताउँदै स्थानीय युवा पनि कृषि र पशुपालनतर्फ आकर्षित हुनुपर्नेमा जोड दिए ।

उनले डीडीसीबाट दूधको भुक्तानी १५–१५ दिनमा गर्ने व्यवस्था मिलाउन र सरकारी अनुदान सबै किसानसम्म पुग्ने सुनिश्चितता गर्न सरकारसँग आग्रह गरे । उनका अनुसार दूध बिक्रीबापत करिब ३० लाख रुपैयाँ डीडीसीबाट भुक्तानी पाउन बाँकी छ । पछिल्ला चार महिनादेखि भुक्तानी नपाउँदा अन्य आर्थिक गतिविधिमा समेत असर परेको उनले बताए ।

बाँकेको डुडुवा गाउँपालिकाका हल्कारापुर्वा, कम्दी, सिधनिया र ग्वालापुर गाउँहरू भैंसीपालनका लागि प्रसिद्ध छन् । यी गाउँका अधिकांश घरपरिवारले भैंसीपालन गर्दै आएका छन् । तीमध्ये हल्कारापुर्वामा मात्रै ६०० भन्दा बढी भैंसी पालिएको छ । यही कारण स्थानीयले यसलाई ‘दूध उत्पादनको गाउँ’ भनेर चिन्ने गरेका छन् । यहाँबाट दैनिक करिब ६०० लिटर दूध नेपालगन्ज बजारमा आपूर्ति हुने गरेको किसानहरूको भनाइ छ ।

हाल यस क्षेत्रमा स्थानीय जातका भैंसीभन्दा मुर्रा जातका भैंसीपालनतर्फ किसानहरूको आकर्षण बढ्दै गएको छ । बढी दूध दिने भएकाले किसानहरू मुर्रा जाततर्फ आकर्षित हुँदै गएको स्थानीय कृषक रामफेरन यादवले बताए । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले एक स्थानीय किसानले राष्ट्रपतिबाट उत्कृष्ट कृषक पुरस्कार प्राप्त गर्नु पालिकाका लागि गौरवको विषय भएको बताउँदै भैंसीपालक किसानलाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार