२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ जेठ २४ गते आइतबार
डुडुवा गाउँपालिका–४, चौफेरीस्थित टिनको छाना रहेको प्राथमिक विद्यालय ।

देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै कायम छ । अत्यधिक गर्मीका बिच पनि विद्यार्थी टिनको छानामुनि बसेर पढ्न बाध्य छन् ।

अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाबाट बनेका कक्षाकोठा भएकाले उच्च तापक्रममा बालबालिकाहरू उकुसमुकुस महसुस गर्दै पसिना बगाउँदै पढ्न बाध्य रहेको शिक्षकहरूले बताएका छन् । डुडुवा गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय शाहपुरवाका सहायक प्रधानाध्यापक टीका खड्काले गर्मीको समयमा टिनको छाना अत्यधिक तातिने भएकाले पढाइ अत्यन्तै कठिन हुने गरेको बताइन् ।

उनका अनुसार छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने, पङ्खाको अभाव तथा अत्यधिक गर्मीका कारण साना बालबालिकाको स्वास्थ्य र पठनपाठन दुवै प्रभावित भएको छ । यस्तै, नेपालगन्ज उपमहानगरपालिका–२०, राँझास्थित आदर्श माध्यमिक विद्यालयकी शिक्षिका हीरा गौतमले टिनको छानामुनि बस्दा विद्यार्थीलाई बारम्बार पानी खान जानुपर्ने, टाउको दुख्ने र थकान हुने समस्या देखिने गरेको बताइन् ।

उनले अत्यधिक गर्मी हुने जिल्लाका विद्यालयलाई कम्तीमा पनि टिनको छानामुक्त बनाउनुपर्ने आवश्यकता औँल्याइन् । त्यसैगरी, नेपालगन्ज–१० स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालले धेरै विद्यालयले अझै पनि प्राथमिक तहका बालबालिकालाई टिनको छानामुनि राखेर पढाउन बाध्य रहेको गुनासो गरिन् ।

तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन बोर्ड जडान गरेको भए पनि नेपालगन्जको अत्यधिक गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशीले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले नेपालगन्ज देशकै अत्यधिक गर्मी हुने क्षेत्र भएकाले केही विद्यालयमा जिप्सन जडान गरी तापक्रम घटाउने प्रयास गरिएको बताउँदै नयाँ निर्माण हुने भवनमा टिनका छाना नराख्ने नीति अपनाइएको स्पष्ट पारे । उनले सबै विद्यालयलाई क्रमशः टिनको छानामुक्त बनाउने योजना रहेको पनि जानकारी दिए ।

सरकारी तथा स्थानीय तहका भवनहरू सुविधासम्पन्न र वातानुकूलित बनाइँदै गर्दा विपन्न परिवारका बालबालिका भने अझै टिनको छानामुनि कष्टकर रूपमा अध्ययन गर्न बाध्य हुनु अत्यन्तै दुःखद भएको अभिभावकहरु बताउँछन् । बाँकेजस्तो अत्यधिक गर्मी हुने क्षेत्रमा विद्यालयलाई टिनमुक्त बनाउनैपर्ने अभिभावकहरुको माग छ ।

प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार