२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

अदालतमा सुरक्षा र भिडभाड नियन्त्रण गर्न नयाँ नियम

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ जेठ २४ गते आइतबार

बाँके जिल्ला अदालतले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई थप चुस्त, मर्यादित एवम् सुरक्षित बनाउन नयाँ नियमहरू लागू गरेको छ । अदालत प्रशासनले एक सूचना जारी गर्दै आगामी जेठ २५ गतेदेखि अदालत प्रवेश गर्ने सबै सरोकारवालाहरूका लागि विभिन्न नौ बुँदे निर्देशनहरू अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ ।

अदालत परिसरमा हुन सक्ने सम्भावित असुरक्षा र अव्यवस्थालाई ध्यानमा राखेर बाँके जिल्ला अदालतको प्रशासन शाखाद्वारा जारी प्रेस विज्ञप्तीमा उक्त कुरा जनाइएको छ । नयाँ व्यवस्था अनुसार अब कानुन व्यवसायीहरूले ‘कानुन व्यवसायीको पेसागत आचरणसम्बन्धी नियमावली, २०७९’ले निर्दिष्ट गरेको पोसाक अनिवार्य रूपमा लगाएर मात्र अदालतमा प्रवेश पाउने छन् ।

यसैगरी, लेखापढी व्यवसायीहरूको हकमा पनि संशोधित नियमावली बमोजिम तोकिएको पोसाक र परिचयपत्र अनिवार्य गरिएको छ । सेवाग्राहीहरूका हकमा फिराद पत्र, प्रतिउत्तर पत्र वा अन्य निवेदनहरू दर्ता गर्न आउँदा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने नियम बनाइएको छ । साक्षी बकपत्रका लागि उपस्थित हुने दुवै पक्षका साक्षीहरूले आफ्नो पक्षको साक्षी निवेदन पत्रका साथमा र तारिखमा रहेका पक्ष वा वारिसहरूले तारिख पर्चासहित आफ्नो परिचयपत्र देखाएर मात्र अदालतभित्र प्रवेश पाउने व्यवस्था गरिएको अदालतले जनाएको छ ।

अदालतले मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै अशक्त तथा वृद्ध ज्येष्ठ नागरिकको सहायताका लागि भने एक जनासम्म सहयोगी साथमा ल्याउन पाउने सहुलियत दिएको छ । यसका साथै अदालत परिसरको स्वच्छता र मर्यादा कायम राख्न भित्र पान, गुट्खा लगायतका वस्तुहरू सेवन गर्न र साथमा लिएर आउन पूर्ण रूपमा निषेध गरिएको छ ।

तोकिएका वर्ग र प्रयोजन बाहेकका अन्य व्यक्तिहरूलाई अदालतको अनुमतिबिना प्रवेशमा रोक लगाइएको छ भने सुरक्षा गार्डले मुख्य ढोकामा कडा जाँच गरेर मात्र प्रवेश अनुमति दिने व्यहोरा अदालतको सूचनामा उल्लेख छ । यो व्यवस्थाले अदालत र अदालत परिसरमा हुँदै आएका होहल्ला, भिडभाड नियन्त्रण तथा सुरक्षा व्यवस्थामा थप मजबुत हुने अपेक्षा गरिएको अधिवक्ता वसन्त गौतमले बताए ।

प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार