राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापति पदमा विवेककुमार श्रेष्ठ निर्वाचित भएका छन् । रास्वपाको विधान अनुसार सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था भए पनि शनिबार भएको अधिवेशनमा चार जना उम्मेदवारमध्ये कसैले पनि सो मत कटाउन सकेका थिएनन् ।
शनिबार बढी मत ल्याउने दुई उम्मेदवार विवेककुमार श्रेष्ठ र आनन्दबाबु काफ्लेबीच पुनः मतदान गर्नुपर्ने अवस्था आएपछि आपसी सहमतिमा श्रेष्ठलाई आइतबार सभापति निर्वाचित गरिएको हो । रास्वपा बाँकेका नेता बुद्धिसागर सुवेदीले दुई प्रतिस्पर्धीबीच भएको छलफल र सहमतिका आधारमा श्रेष्ठलाई जिल्ला सभापति घोषित गरिएको जानकारी दिए ।
शनिबारको मतदानमा श्रेष्ठले ८५, काफ्लेले ५२, हरिपालसिंह केसीले ३९ र विनोद अग्रहरीले ११ मत प्राप्त गरेका थिए । यस्तै उपसभापति पदमा ईश्वरी लामिछाने ११९ मतसहित विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी रामकुमार विष्टले ६८ मत प्राप्त गरे । सचिव पदमा शुभमकुमार गुप्ता १०० मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी बुद्धिसागर सुवेदीले ८९ मत प्राप्त गरे ।
सहसचिव पदमा फारुक गुज्जर निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै जातीय प्रतिनिधि सदस्यतर्फ डा.कमर जहाँ १२१ मत र दलित सदस्यतर्फ स्मृति नेपाली १४५ मतसहित निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी क्रमशः सहजाद अली जोलाहले ५७ र मनोज नेपालीले ३७ मत प्राप्त गरे । खुला सदस्यतर्फ यमुनाकुमारी थापा मगर १४९, एकलाल थापा क्षेत्री १३८ र हेमराज बराल १२८ मतसहित निर्वाचित भएका छन् ।
सत्यपाटी