२०८३ वैशाख १० , बिहीबार 23, April 2026, Thursday

त्रिभुवन विमानस्थलका कर्मचारीले भन्सार जाँचपास नगरेपछि…

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० भदौ २५ गते सोमबार

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कमर्चारीहरुले आज भन्सार जाँचपास बन्द गरेका छन् । आइतबार तीन घण्टा पेन डाउन गर्दै बिरोध जनाएका उनीहरुले आज र भोलि कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्न सुरु गरेका हुन् ।

आफूहरुको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्याउने गरी विभिन्न निकायबाट भएको निरन्तर हस्तक्षेप पूर्णरुपमा बन्द नभएसम्म यस्तै परिस्थितिमा कार्यालयको दैनिक कार्यसञ्चालन गर्न आफूहरु असमर्थ रहेको कर्मचारीको भनाइ छ । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा कर्मचारीलाई अनावश्यक रुपमा दुःख दिएको भन्दै उनी आन्दोलनमा उत्रिएका हुन् ।

देशको राजस्व असूलीको लागि अहोरात्र खटिई कानुनबमोजिम असल नियतले गरिएका दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी कर्मचारीहरुको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्याउने गरी विभिन्न निकायबाट भएको निरन्तर हस्तक्षेप पूर्णरुपमा बन्द हुनुपर्ने उनीहरुको माग छ ।

भदौ १२ गते सामूहिक सरुवाको भन्सार विभाग समक्ष निवेदन दिएको भए पनि सुनुवाइ नभएको र वातावरण थप बिग्रिदै गएको भन्दै कर्मचारीहरुले बिरोधका कार्यक्रमहरु घोषणा गरेको जनाएका छन् । २७ गतेभित्र आफूहरुको मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने चेतावनी उनीहरुको छ ।

प्रकाशित मिति : २०८० भदौ २५ गते सोमबार