कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित विभिन्न पाँच वटा माग राखेर आन्दोलनमा उत्रिएका छन् । बुधबार उनीहरूले अर्धनग्न प्रदर्शन गरेका छन् ।
उनीहरूले जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर अगाडि प्रदर्शन गरेका हुन् । वर्षौँ बित्दा पनि जग्गा सट्टाभर्ना नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
२०३३ सालमा शुक्लाफाँटा आरक्ष स्थापना गर्दा स्थानीय बासिन्दाको जग्गा अधिग्रहण गरिएको थियो । त्यसपछि पनि आरक्ष विस्तार गरिएको थियो । अहिले आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाइएको छ ।
दशकौँ बित्दा पनि जग्गा नपाएको भन्दै शुक्लाफाँटा आरक्ष पिडित, जिल्ला संघर्ष समितिले प्रदर्शन गरेको हो । उनीहरूले पिडितलाई १० कट्टा नघटाई जमिन उपलब्ध गराउन र अहिलेसम्मको क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।
त्यस्तै, आधारभूत कुराको निःशुल्क र ग्यारेन्टी गर्न, पिडितको एउटै वडा घोषणा गर्न र पिडितलाई द्वन्दपिडित घोषणा गर्न माग गरेका छन् ।
सत्यपाटी