विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन । साँघुरो सडक, पातलो बस्ती, साना घरहरू थिए । उनले भने, ‘गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।’ उनी सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा तीन दशक यता निरन्तर मिठाई पसल सञ्चालन गर्दै आएका छन् ।
स्वदेशमा परिश्रम गरिरहेका तामाङले मिठाई बेचेर खुसी कमाइरहेको बताउँछन् । पचासदेखि ०५८ सालसम्म उनको व्यापार फस्टायो । सोही अवधिमा उनले तराईमा घर किने । फिक्कल नजिकै नयाँचोकमा तीन ठाउँ जमिन जोडे । दुई जना छोरीलाई पढाएर अमेरिका र अस्ट्रेलिया पठाउन यही व्यापारले पुग्यो । कान्छी छोरीलाई काठमाडौँ राखेर चार्टर एकाउन्टेन्ड र बिएबीएस पढाउने खर्च पनि यसै पसलले धानिरहेको छ ।
‘झापाको विर्तामोडमा जोडेको घर, नयाँचोकमा जोडेका जमिनहरू त्यतिबेलाकै व्यापारले हो,’ उनी भन्छन्, ‘०५० सालमा फिक्कल आएर २२ हजार लगानीमा पसल सुरु गरेँ । महिनाको रु २०० भाडा तिर्नुपथ्र्यो । पाँच रुपैयाँमा पेट अघाउने खाजा बेच्दा पनि पैसा कमाइयो । छोरीहरूलाई ‘सेटल’ गराएँ । मिठाई बेचेर खुसी कमाएको छु ।’ अहिले पनि उनको पसल (जनता मिष्ठान्न भण्डार) उत्तिकै चलेको छ । तर, त्यो बेलामा जस्तो नाफा हुँदैन ।
तामाङ भन्छन्, ‘महँगी बढेको छ । सामान किनिसक्नु छैन । मान्छे त आइरहन्छन् । तर, प्रतिस्पर्धा बढ्यो । पसल धेरै छन् । तैपनि ६०–७० हजार बचाउँछु ।’ उनको इमानदार सोच र निरन्तर श्रमले तीन छोरीको भविष्य बनायो । ‘जेठी छोरीलाई काठमाडौँमा नर्सिङ पढाएर अमेरिका पठाएँ, माइली अस्ट्रेलियामा छिन्, कान्छी काठमाडौँमै चार्टर एकाउन्टेन्ड र बिएबीएस पढ्दैछिन् । मलाई सन्तोष छ ।’ छोरीहरूको पढाइका लागि उनले बिर्तामोडमा बनाएको घर बिक्री गरेको बताए ।
समयसँगै व्यापारको स्वरूप फेरियो । पहिले फिक्कलस्थित पशुपतिनगर स्टेनमा रहेको त्यही पसल फिक्कल बजारको इलाम स्टेन मुनितिर सरेको २० वर्ष भयो । खाजाको मूल्य रु पाँचबाट बढेर रु १५० पुगेको छ । समोसा, सेलरोटी, पुरीदेखि लड्डु, खुर्मा, रसबरी, जेरी र भुजियासम्मका परिकार पाइने पसलमा अहिले दुई जना कर्मचारी छन् । उनी भन्छन्, ‘प्रतिस्पर्धा बढ्यो, ग्राहकको बानी फेरियो । अहिले जाँडरक्सी बेच्ने धेरै छन्, तर मैले कहिल्यै मदिरा, सुर्ती, चुरोट बेचिनँ ।’
विसं २०४२ तिर उनी झापाको काँकडभिट्टामा रिक्सा चलाउँथे । छ सय मजदुरको विश्वास जित्दै रिक्सा सङ्घको कोषाध्यक्ष बनेका थिए । पछि केही समय होटलमा पनि काम गरेर मिठाई पसल सुरु गरेको उनी बताउँछन् । आज पनि उनी पसलमै व्यस्त हुन्छन् । उमेर ढल्किँदै गए पनि कामप्रतिको लगाव उस्तै छ । ‘काम नगरी हुँदैन, तर अहिलेका केटाकेटीले यस्तो दुःख गर्न चाहँदैनन्,’ उनी भन्छन् । ऐतिहासिक गोर्खे बजार त्यो बेलाको व्यापारिक केन्द्र थियो ।
त्यहाँबाट सामान खरिद बिक्री गर्न भारी बोकेर आउजाउ गर्नुपथ्र्यो । ‘बिहानै भारी बोकेर फिक्कल हिँडिन्थ्यो । हरिको मिठाई पसलमा पुगेर खाजा खाने भन्दै जान्थ्यौँ । यी मान्छे पुराना हुन् । अहिले पनि उसैगरी व्यापार गर्छन्,’ गोर्खेका ७६ वर्षीय वीरबहादुर राईले सुनाए, ‘अहिले पनि फिक्कल जाँदा हरिको पसलमा समोसा नखाई फर्किन्न ।’
सत्यपाटी