२०८३ वैशाख ९ , बुधबार 22, April 2026, Wednesday

गृहमन्त्री सुदनले दिए राजिनामा, २६ दिनमै दुई मन्त्री ‘आउट’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख ९ गते बुधबार

गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन शाहलाई राजीनामा बुझाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उनले राजीनामा बुझाएका हुन् । ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ ।

तत्काललाई गृहमन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले भनिन् । विवादास्पद व्यापारी दीपक भट्टसँग लगानी साझेदारी देखिएपछि नैतिकताका आधारमा गुरुङले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै दुई मन्त्री बाहिरिएका छन् । उनीहरूको कार्यशैली र व्यक्तिगत अपारदर्शी शैलीका कारण उनीहरू पदबाट हटेका हुन् । यसअघि आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रुपमा सहभागी गराउने भूमिका खलेको भन्दै विवादमा परेपछि श्रममन्त्री दीपककुमार साह १३ दिनमै बाहिरिएका थिए ।

उनलाई तत्कालै पदबाट फिर्ता बोलाउने निर्णय गर्दै रास्वपाले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा साहलाई हटाइएको थियो । अहिले सरकार बनेको २६ दिनमा गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । उनको सम्पत्तिमाथि प्रश्न उठेपछि उनले बुधबार राजीनामा दिएका छन् । केही दिनअघि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

त्यो सम्पत्ति विवरण नै अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा लगरेको अर्को लागनीको विवरण पनि बाहिर आयो । उनले सञ्चालन गरेको सामाजिक संस्था हामी नेपालमा आएको सहयोग रकम पनि व्यक्तिगत खाता मार्फत् कारोबार गर्ने गरेको लगायतका विषय बाहिरिएपछि गुरुङलाई पदबाट बाहिरिनका लागि सर्वत्र दबाब परेको थियो । त्यही दबाबबीच उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।

गृहमन्त्रीबाट राजीनामा सुधन गुरुङले दिएपछि गृह मन्त्रालय तत्काललाई प्रधानमन्त्री बालेन्द्र शाहले गृहले आफूसँगै राख्ने भएका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गुरुङको व्यापारिक साझेदारी रहेको देखिएको थियो । उनले जेनजी आन्दोलनपछि ५० लाखको शेयर खरिद गरेको देखिएको थियो । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र र बाहिरबाट उनीमाथि दवाव परेको थियो । विपक्षी राजनीतिक दलले राजीनामाको माग गरेका थिए ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार