१४ वर्षको वनवासपछि जब भगवान श्रीराम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीताको पवित्रतामाथि प्रश्न उठ्यो । श्रीरामलाई सत्य थाहा हुँदाहुँदै पनि उहाँले जनमतलाई बेवास्ता गर्नुभएन, बरु अग्नि परीक्षा जस्तो कठोर निर्णय लिनुभयो । किनकी मर्यादा पुरुषोत्तम भगवान् श्री रामले त्यो दिव्य लिला मार्फत सत्यलाई सार्वजनिक रूपमा स्थापित गर्नु र शासनप्रति जनविश्वासलाई अडिग राख्नु राजा वा सरकारको नेतृत्वको मुल धर्म हो भन्ने मान्यता स्थापित गराउनु थियो । जनताको प्रश्न कहिलेकाहीँ अपूर्ण वा गलत पनि हुन सक्छ, तर त्यसलाई दबाउनु वा बेवास्ता गर्नु होइन, निष्पक्ष, पारदर्शी र साहसी ढंगले सम्बोधन गर्नु नै नेतृत्वको मुल धर्म हो, रामराज्यले दिएको प्रमुख सन्देश यही नै हो ।
यहि सनातन मान्यतालाई आत्मसात् गर्दै आज नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङले आफुमाथि चौतर्फी प्रश्न उठेपछि जनआवाजको सम्मान गर्दै राजिनामा दिए । उनी माथि उठेको प्रश्न सहि या गलत ? त्यो छानबीन पनि सावित हुने नै छ । यद्दपि, राजिनामा दिँदादिँदै उनले जनतालाई सम्बोधन गर्दै भनेका छन्, ‘रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।’ गृहमन्त्री गुरुङको राजीनामाको यस प्रसङ्गले केवल एक व्यक्तिको राजनीतिक उत्तरदायित्वको चर्चा मात्र जन्माएको छैन; यसले नेपालको समग्र शासन–संरचना, नैतिक धरातल र नेतृत्वको चरित्रबारे गम्भीर बहस सुरु गराएको छ । सँगसँगै नेपालमा पुनः रामराज्यको अपरिहार्यता सम्बन्धी वहस र परिचर्चा उत्कर्षमा पुराएको छ ।
नेपालमा रामराज्य किन अनिवार्य छ ?
देवभूमि नेपालमा रामराज्य किन अनिवार्य छ भन्ने प्रश्नको उत्तर हाम्रो इतिहास, संस्कृति र वर्तमान अवस्थालाई एकसाथ हेर्दा स्वतः प्रकट हुन्छ । नेपाल केवल एउटा भौगोलिक राष्ट्र मात्र होइन, यो वेद, ऋषि, तप र आध्यात्मिक चेतनाले सिँचित भूमि हो । एक यस्तो धरोहर, जहाँ धर्मनीति, सदाचार र कर्तव्य जीवनका आधार स्तम्भका रूपमा स्थापित थिए । तर वर्तमान यथार्थतर्फ दृष्टि पुर्याउँदा, यही आधार क्रमशः कमजोर हुँदै गएको देखिन्छ । दशकौँदेखि राजनीतिक तहमा सत्ता केन्द्रित सोच, सिद्धान्तहीन गठबन्धन, पदका लागि मूल्य र आदर्शको त्याग, र जनताभन्दा दलगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्तिले नेपाली राजनीति आफ्नो मूल उद्देश्यबाट विचलित भएको छ ।
प्रशासनिक संरचनामा भ्रष्टाचार र अनियमितता क्रमशः संस्थागत बन्दै गएका छन् । निर्णय प्रक्रियामा पारदर्शिता कमजोर भएको छ, र उत्तरदायित्वबोध घट्दै गएको छ । सामाजिक स्तरमा नैतिक मूल्यहरूको ह्रास, परिवार र समुदायमा अनुशासनको कमी, तथा भौतिकतावादको बढ्दो प्रभावले मानिसलाई आफ्नो आध्यात्मिक आधारबाट टाढा लैजाँदैछ । त्यस्तै, सांस्कृतिक क्षेत्रमा आफ्नै मौलिक परम्परा र पहिचानप्रति उपेक्षा, विदेशी जीवनशैलीको अन्धानुकरण, र संस्कारभन्दा प्रदर्शनमुखी प्रवृत्तिको वर्चस्वले हाम्रो मौलिकता संकटमा परेको छ । यी सबै समस्याहरूलाई अलग–अलग रूपमा हेर्दा विविध देखिए पनि, गहिराइमा जाँदा तिनको जरो एउटै देखिन्छ ।
धर्मनीतिको अभाव ! जब शासन, समाज र व्यक्तिको जीवनबाट धर्म अर्थात् कर्तव्य, सत्य र नैतिकता हट्दै जान्छ, तब असन्तुलन, अन्याय र अविश्वास स्वाभाविक रूपमा बढ्न थाल्छ । यस्तो अवस्थामा समाधान खोज्ने क्रममा विदेशी नीति, विदेशी रणनीति र विदेशी राज्य सञ्चालन प्रणालीतर्फ हेर्ने प्रवृत्ति देखिन्छ । तर गम्भीर प्रश्न उठ्छ, के ती मोडेलहरू नेपालको माटो, संस्कृति, इतिहास र चेतनासँग पूर्ण रूपमा मेल खान्छन् ? विगतमा विभिन्न राजनितिक दलहरुले राष्ट्रको माटो सुहाउँदो निती त्यागेर आयातित सिद्वान्त र वादलाई अवलम्बन गरेकै कारण आज नेपालको अधिकांश क्षेत्रमा अस्वभाविक विचलन आएको हो, जसको परिणामस्वरुप देखा परेको दुरावस्था जगजायर नै छ ।
कहिलेकाँही बाह्य देशका सकारात्मक प्रणालीहरू, नितिहरु उपयोगी हुन सक्छन्, तर मूल आधार आफ्नै हुनुपर्छ । त्यसैले नेपालको दीर्घकालीन, दिगो र मौलिक समाधान वैदिक सनातन धर्म सापेक्ष ‘रामराज्य’को अवधारणामा निहित छ । रामराज्य भन्नाले कुनै संकुचित धार्मिक राज्य होइन, यो धर्मनीतिमा आधारित आदर्श शासन व्यवस्था हो । जहाँ धर्मको अर्थ सम्प्रदाय होइन, कर्तव्य, सत्य र न्याय हो । यस्तो व्यवस्थामा राज्यका प्रत्येक निर्णय नैतिक आधारमा लिइन्छन् । नेतृत्वले शक्ति प्रदर्शन होइन, सेवा भावलाई प्राथमिकता दिन्छ । जनताको प्रश्नलाई दमन गर्ने होइन, सम्मानपूर्वक सुन्ने र निष्पक्ष रूपमा सम्बोधन गर्ने संस्कार विकसित हुन्छ । रामराज्यमा कानून सबैका लागि समान हुन्छ, कुनै पनि वर्ग, जात वा समुदायप्रति पक्षपात हुँदैन ।
राज्य सञ्चालन गर्ने व्यक्तिहरूको व्यक्तिगत जीवन नै आदर्श र अनुकरणीय हुन्छ, किनकि चरित्रहीन नेतृत्वबाट सुशासन सम्भव हुँदैन । पारदर्शिता र उत्तरदायित्व यस्तो प्रणालीको अनिवार्य अंग हुन्छ, जहाँ प्रत्येक निर्णय र कार्यप्रति स्पष्ट जवाफदेहिता हुन्छ । साथै, विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित नगरी मानवीय चेतना, नैतिकता र आध्यात्मिक उन्नतिसँग जोडिन्छ, जसले समग्र सन्तुलित विकास सुनिश्चित गर्छ । वर्तमान सन्दर्भमा हेर्दा, नेपाल सरकार र सम्पूर्ण नेतृत्व तहले गम्भीर आत्ममूल्यांकन गर्नु अपरिहार्य भइसकेको छ । जनताको विश्वास क्रमशः कमजोर हुँदै जानु, विरोध र असन्तुष्टि बढ्दै जानु यी सबै संकेत हुन् कि शासन प्रणालीमा गहिरो सुधार आवश्यक छ ।
गृहमन्त्री सुदन गुरुङ को राजीनामाको प्रसङ्गले पनि यही सन्देश दिन्छ कि नैतिक साहस र उत्तरदायित्व बिना नेतृत्व पूर्ण हुँदैन । पदमा बसिरहनु मात्र सफलता होइन, आवश्यक पर्दा सत्य र नैतिकताको पक्षमा उभिनु नै साँचो नेतृत्व हो । यदि भगवान श्री राम ले जस्तै जनमतलाई सम्मान गर्ने, प्रश्नलाई पारदर्शी रूपमा सम्बोधन गर्ने र जनविश्वासलाई सर्वोपरि राख्ने संस्कार आजको नेतृत्वमा विकास हुन सकेमा, आजका विवादहरू समाधानमा रूपान्तरण हुन सक्छन्, शासनप्रति विश्वास पुनःस्थापित हुन सक्छ, र राष्ट्र सही दिशामा अघि बढ्न सक्छ । अन्ततः रामराज्य कुनै काल्पनिक वा केवल आदर्शवादी अवधारणा होइन, यो व्यवहारमा उतार्न सकिने, समयसापेक्ष र अत्यावश्यक शासन दर्शन हो । नेपालजस्तो ऐतिहासिक, आध्यात्मिक र सांस्कृतिक गहिराइ भएको राष्ट्रका लागि यो विकल्प होइन, अनिवार्य मार्ग हो ।
जबसम्म नेतृत्वमा सत्य र त्यागको भावना विकसित हुँदैन, नीतिमा धर्म र न्याय स्थापित हुँदैन, र समाजमा नैतिकता पुनर्जीवित हुँदैन, तबसम्म समस्याहरूको स्थायी समाधान सम्भव हुँदैन । तर यदि नेपालले आफ्नै मौलिकता, वैदिक चेतना र धर्मनीतिमा आधारित मार्गलाई आत्मसात् गर्न सक्यो भने, यो केवल राष्ट्रिय पुनःजागरणको सुरुवात मात्र हुनेछैन, यसले विश्वलाई पनि एक सन्तुलित, नैतिक र मानव केन्द्रित शासन प्रणालीको मार्गदर्शन दिन सक्छ । र, आदर्श शासन प्रणाली भएको राष्ट्रका हैसियतले नेपाल विश्वकै मार्गनिर्देशन गर्ने देशका रुपमा स्थापित हुनसक्छ । तसर्थ, रामराज्यलाई केवल धार्मिक सिद्धान्त वा रूढिवादी परम्पराको रूपमा सीमित नगरी, आदर्श राज्य सञ्चालनका लागि अनिवार्य मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गर्नु नै नेपालका लागि दीर्घकालीन रूपमा लाभदायक हुनेछ । जय नेपाल ।
