२०८३ वैशाख ९ , बुधबार 22, April 2026, Wednesday

मधुवा रोगले बाँकेमा आँप उत्पादन घट्ने चिन्ता

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख ९ गते बुधबार

आँपमा फल लाग्ने मुख्य समयमा नै यस वर्ष बाँकेमा आँपमा मधुवा रोग लागेपछि आँप उत्पादन घट्ने चिन्ता बढेको छ । आँपको फल लाग्ने बेला यस वर्ष मधुवा रोगको समस्या देखिएकोले आँप उत्पादन घट्ने अनुमान गरिएको किसानहरुको भनाइ छ ।

बाँकेको जानकी गाउँपालिका–१ का आँप उत्पादक किसान अब्दुल वाजिद साईले फूल फुल्ने मुख्य समयमै कीराको समस्या देखिएको जनाउँदै आँपको फूल कीराले चुसेर खाएकाले धेरै फल लाग्ने सम्भावना कम रहेको बताए ।

सोही प्रकारले बाँकेको खजुरा गाउँपालिकाका आँप उत्पादक किसान दिपक थापाले पनि आँपको रुखमा यस पटक विगतभन्दा धेरै बढी फूल आएको जनाउँदै तर फल लाग्ने बेलामा मधुवा रोग देखिएपछि उत्पादनमा ठुलो असर पर्ने आशंका बढेको बताए ।

कृषि ज्ञान केन्द्र बाँकेले यस समस्याबाट जुध्न किसानलाई परामर्श र विषादी सिफारिस गर्दै आएको छ । कीराको समस्या देखिनुअघि नै सतर्कता अपनाउनु उत्तम उपाय भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।

उनले भने, ‘कीराको सङ्क्रमणबाट जोगिन आँपमा फूल लाग्नुभन्दा अगाडि नै आवश्यक विषादीको प्रयोग गर्नुपर्दछ । ढिलो गरी विषादी प्रयोग गर्दा फूलमा क्षति भइसकेको हुन्छ, कीराको समस्यालाई समयमै नियन्त्रण गर्न नसके जिल्लाको समग्र आँप उत्पादनमा ठूलो ह्रास आउने अवस्था देखिएको छ ।’

बाँके जिल्लामा गत वर्ष एक हजार १५ हेक्टर क्षेत्रफलमा नौ हजार ९१५ मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष मधुवा फड्केकीराको तीव्र सङ्क्रमणका कारण सोही परिमाणमा उत्पादन हुने सम्भावना निकै कम देखिएको सूचना अधिकारी पाठकको भनाइ छ ।

उनका अनुसार मधुवा फड्केकीरा समूहमा उड्ने र निकै छिटो एक बगैँचाबाट अर्कोमा सर्ने गर्दछ । यसले आँपको फूल र कलिलो मुनाको रस चुस्छ, यसका कारण फूलहरू ओइलाउँछन् र फल नलाग्दै झर्छन् । कीराले एउटा चिप्लो पदार्थ पनि छोड्ने गर्छ, जसले गर्दा फूलमा कालो ढुसी लागेर झन क्षति पुर्याउँछ ।

कृषि ज्ञान केन्द्र बाँकेले प्रभावित किसानहरूलाई तत्काल प्राविधिक सल्लाह लिन र सिफारिस गरिएका विषादीहरूको उचित मात्रामा प्रयोग गर्न आग्रह गरेको सूचना अधिकारी पाठकले बताए । पछिल्लो समयमा आएर बाँकेमा आँप उत्पादन गर्नें किसानको संख्या र आँपको माग दुबै बढ्दै गएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार