२०८३ असोज २६ , सोमबार 12, October 2026, Monday
विचार

दसैँमा अस्वस्थकर मासु, जोखिममा उपभोक्ता

नेपालीहरूको महान् चाड दसैँमा मासुको खपत अत्यधिक हुने गर्दछ । तर, बजारमा उपलब्ध हुने मासुको गुणस्तर र स्वच्छतामा ध्यान नदिँदा अस्वस्थकर मासु उपभोगको ठुलो जोखिम सधैँ रहिरहन्छ ।
डा.केदार कार्की
डा.केदार कार्की । काठमाडौं

नेपालीहरूको घरआँगनमा यतिबेला दशैं शुरू भइसकेको छ । यस पर्वमा माछा मासुको धेरै खपत हुने गरेको छ । दशैंमा हजारौं कुखुरा, हाँस, राँगा र बोकाको बलि दिने वा घरघरमा काटेर खाने र खुवाउने चलन छ । दशैंमा बलि नदिने मांसाहारी मानिसले पनि पसलबाट मासु ल्याएर खाने गरेका छन् । मध्यम र उपल्लो वर्गका मानिस च्याङ्ग्राको मासु नखाएसम्म दशैंमा मनोरञ्जन लिएको मान्दैनन् । दसैंका अवसरमा बलिदिन र मासु खाने चलन बढ्दै गएकाले सामान्य दिन बाहेक करिब ६० हजार खसीबोका (१२ लाख किलो मासु) खपत हुन्छ ।

उपत्यकामा सामान्य दिनमा एक हजार गोटा खसीबोका बिक्री भए पनि दसैंमा करिब दैनिक तीन हजारको संख्यामा बिक्री हुन्छ । उपत्यकामा दसैंको अवधिमा मात्रै करिब ६० हजार खसीबोका, १० हजार च्यांग्रा, तीन हजार भेडा र सयभन्दा बढीको संख्यामा राँगा खपत हुन्छ । दसैंको अवधिमा मात्रै विदेशी र स्वदेशी गरी करिब ५६ करोड रुपैयाँबराबरका खसीबोकाको कारोबार हुन्छ । नेपालको सबभन्दा ठूलो चाड दसैँमा मासुको खपत अत्यधिक हुने गर्छ । तर, यस पर्वमा अस्वस्थकर र दूषित मासु उपभोगको जोखिम सधैँ उच्च रहने गरेको छ ।

दसैँमा गुणस्तरीय मासुको सुनिश्चितता नेपाली उपभोक्ताको स्वास्थ्य रक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण पाटो हो । नेपालीहरूको महान् चाड दसैँमा मासुको खपत अत्यधिक हुने गर्दछ । तर, बजारमा उपलब्ध हुने मासुको गुणस्तर र स्वच्छतामा ध्यान नदिँदा अस्वस्थकर मासु उपभोगको ठुलो जोखिम सधैँ रहिरहन्छ । यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै चाडबाडको खुसीलाई रोग र तनावमा बदल्न सक्छ । गच्छे अनुसार मिठो मसिनो खाएर दशैं मनाउने नेपालीको परम्परै हो । परम्परा अवश्य पनि धानिँदैछ यसपटक पनि ।

त्यसो त, अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिंदैन । नेपालीको महान चाड दशैंमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋण गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राख्छन् । अन्य समय त छदै छ तर चाडबाडमा मासु अत्यधिक खाने प्रचलन नयां भने होइन । दशैंमा दैनिकजसो मासुका परिकार पाक्ने गर्छन् । तर मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा हामी खासै सचेत छैनौं । प्रायले मासु खाए पुग्यो भन्ने मान्यता राख्ने गरेको पाइन्छ ।

गलत तरीकाले भण्डारण गरिएका र बासी मासु खाँदा ज्यानै जान सक्ने हुन सक्छ । मासुमा १४ प्रतिशतदेखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ भने यसमा जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्त्वहरू पनि पाइन्छन् । शरीरका लागि यी अति आवश्यक तत्त्वहरू हुन । नेपालीमा मासु खाने संस्कृति विकसित भए पनि खानपानको तरीका भने सन्तुलित भई सकेको छैन । दशैंका लागि खसी र बोका छनोट गर्ने कुरामा ध्यान दिन सके मासुबाट सर्ने रोगबाट बच्न तथा स्वस्थ मासु प्राप्त गर्न सकिन्छ ।

दशैंका लागि बजारमा ल्याइने खसी, बोका, राँगा, च्याङ्ग्रामा पशु सेवा विभागले स्वास्थ्य परीक्षण गरी विभिन्न रङले मार्किङ गरेका पशु मात्रै खरीद गर्नु उचित हुन्छ । हेर्दै अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएको, फनफनी घुमिरहने खसीबोका किन्नुहुँदैन । केही रकम जोगाउने नाममा रोगी पशु किन्नु भनेको रोग नै किन्नु सरह हुने हो । दशैंमा काठमाडौं भित्रिने खसीबोकालाई सरकारी स्तरबाटै परीक्षण गरेर रातो र हरियो रङ दलिदिने गरिएको छ । सिङमा हरियो रङ पोतिएका खसीबोका वा च्याङ्ग्रा स्वस्थ हुन भने रातो रङ दलिएका अस्वस्थ हुन भन्ने संकेत हो ।

बजारमा मासु किन्दा हामी प्रायः त्यसको रङ, गन्ध र ताजगी जाँच्छौं । तर मासुको गुणस्तर वा उपयुक्तता बाहिरबाट देखिने कुराभन्दा धेरै गहिरो विषय हो । यसले मानव उपभोगका लागि मासुको समग्र उपयुक्ततालाई जनाउँछ, जसमा तीनवटा महत्त्वपूर्ण पक्षहरू समावेश हुन्छन्, सूक्ष्म जीवसम्बन्धी सुरक्षा, हानिकारक रसायनहरूको अनुपस्थिति र पोषण मूल्य । यी सबै पक्षहरूले मिलेर मासु वास्तवमै सुरक्षित, स्वस्थ र हाम्रो भोजनका लागि उपयुक्त छ कि छैन भन्ने कुरा निर्धारण गर्छन् । मासु छिट्टै सड्ने खाद्यवस्तु हो ।

त्यसैले हलुका गुलाबी, हरियो वा प्याजी रङको भए त्यो खान अयोग्य भइसकेको अर्थात सड्न शुरू गरेको भन्ने बुझ्न सकिन्छ । मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, दुर्गन्ध आउनु हुँदैन । सफा फ्रिजमा अलग–अलग गरी छोपेर राखेको मासु मात्रै खरीद गर्नुपर्दछ । मासु काट्दा र समाउँदा तन्के जस्तो लाग्छ भने त्यस्तो मासु खरीद गर्नुहुँदैन । साथै मासु पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काट्नेको तरीका, तराजु सफा छ कि छैन भन्नेमा पनि ध्यान दिनुपर्छ ।

फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको, बासी तथा खुला स्थानमा राखेको, काँचो मासुको परिकार खानु राम्रो मानिँदैन । मासु राम्ररी पखालिएको हुनुपर्छ । पखालिएको मासु पकाउँदा राम्ररी पाकेको हुनुपर्छ । मासुमा मानिसले धेरै थरीका मसला र धेरै चिल्लो पदार्थ राखेर पकाउने गर्छन् । तर मसला र चिल्लो दुवै कम भएको मासु खानु स्वास्थ्यका लागि लाभदायी हुने चिकित्सकहरू बताउँछन् । सकेसम्म बोसो र छालारहित मासु खानुपर्छ । घरमा काटेर मासु तयार पार्दै हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनैपर्छ ।

मासुलाई राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा हुनसक्छ । त्यसकारण दशैंमा मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक हुन्छ । नेपालका मासुपसलमा हुने गरेको लापरबाहीका कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण हुने गरेको छ । फोहोर वधशाला, मासुको तयारी तथा खानपानमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका ‘फ्लू’ तथा सरुवा रोग सर्ने माध्यम हुन सक्ने खतरा हुन्छ । त्यसैले मासु फ्रिजमा माइनस डिग्रीमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राखेको खान उपयूक्त हुन्छ ।

मानिसहरु पनि दसैं नै हो भनेर जथाभावी मासु किन्ने र अध्याधिक मात्रामा खाने गर्दछन् । यसरी मासु खानु नितान्त गलत हो । दसैंको स्वच्छ मासुसँगै ताजा शुद्ध मसला र खानेतेल पनि उत्तिकै महत्र्व राख्छ । मासु शुद्ध हुने तथा मसला र खानेतेल अशुद्ध परेको अवस्थामा फुड प्वाइजन, वान्ता आउने, झाडा पखाला लाग्ने र आउलाग्ने जस्ता समस्या आइपर्छ । सकेसम्म दसैंका लागि मसला आफै तयार पार्नुपर्छ । खानेतेल पनि निकै सोचविचार गरी खरिद गर्नुपर्ने हुन्छ । प्रमुख जोखिम, असर र अपनाउनुपर्ने आगामी बाटो निम्नानुसार छन्,

अस्वस्थकर मासु उपभोगको जोखिमका कारणहरू

जीवाणु दूषितीकरण र सङ्क्रमण – खुला र फोहोर पसलहरूमा मासु काट्ने तथा बिक्री गर्ने गर्नाले साल्मोनेला, ई.कोलाई, र क्याम्पिलोब्याक्टर जस्ता हानीकारक जीवाणुको सङ्क्रमण भई फुड पोइजनिङ (गाढा झाडापखाला), टाइफाइड, र पेटसम्बन्धी रोग लाग्ने सम्भावना रहन्छ ।

रोगी तथा अस्वस्थ पशुको बिक्री – दसैँको समयमा उच्च मागका कारण व्यापारीहरूले पूर्व–परीक्षण (मृत्यु–पूर्व जांच)नगराई रोगी वा बिरामी पशुहरू पनि बजारमा ल्याउने जोखिम हुन्छ ।

अनुचित भण्डारण – ठूलो मात्रामा मासु ल्याएर घरमा उचित फ्रिज वा चिसो तापमान (४ड्ढऋ भन्दा मुनि) विना धेरै दिनसम्म राख्दा मासु चाँडै बिग्रिएर विषाक्त बन्छ ।

अस्वस्थकर मासु उपभोगका प्रमुख जोखिमहरूअल्सर र झाडापखाला – प्रदूषित वा सडेगलेको मासुमा हुने ब्याक्टेरिया (जस्तैः साल्मोनेला, ई-कोलाई) ले गर्दा तत्कालै पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या हुन्छ ।

जुनोटिक रोगहरूको संक्रमण – पशुपन्छीबाट मानिसमा सर्ने रोगहरू जस्तैः टिबी, ब्रुसेलोसिस, र बर्ड फ्लु जस्ता घातक रोगहरू अस्वस्थकर मासुको माध्यमबाट सर्ने उच्च जोखिम रहन्छ ।

मिर्गौला र कलेजोमा असर – एन्टिबायोटिक वा हर्मोनको अत्यधिक प्रयोग गरिएका पशुपन्छीको मासु खाँदा मानिसको कलेजो र मिर्गौलामा दीर्घकालीन रूपमा गम्भीर क्षति पुग्छ ।

परजीवीको संक्रमण – राम्रोसँग नपाकेको वा संक्रमित मासु खाँदा फित्ते जुका (टेपवर्म)जस्ता परजीवीहरू मानिसको शरीरमा प्रवेश गरी मस्तिष्क र अन्य अंगमा ट्युमर जस्ता समस्या निम्त्याउन सक्छन् ।

आगामी बाटो

कडा बजार अनुगमन तथा हरियो तथा रातो चिन्ह ।

पशु सेवा विभाग र स्थानीय तहहरूले संयुक्त टोली परिचालन गरी खसीबोका तथा पशुहरूको स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

स्वास्थ्य परीक्षण गरिएका निरोगी पशुलाई हरियो र बिरामी तथा अस्वस्थलाई रातो रङ लगाउने व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्ने ।

पशु बधशाला र मासु जाँच ऐनको पूर्ण कार्यान्वयन गर्दै व्यवस्थित र स्वच्छ बधशालाको निर्माण तथा प्रयोग अनिवार्य गर्ने र खुला रूपमा जथाभाबी मासु काट्न रोक लगाउने ।

उपभोक्ता सचेतना र सावधानी

किन्दा सावधानी – आँखा सफा भएका, फुर्तिला र परीक्षण गरी हरियो रङ लगाइएका पशु मात्र किन्ने । मासु किन्दा रङ, गन्ध र काटिएको ठाउँको सरसफाइमा ध्यान दिने ।ड्ड घरमा ल्याएपछि मासुलाई राम्रोसँग पखालेर र पूर्ण रूपमा पकाएर मात्र खाने ।

पकाउँदा र भण्डारण गर्दा – मासुलाई राम्ररी पकाएर मात्र खाने र काँचो तथा पाकेको मासुलाई अलग–अलग राख्ने । धेरै दिन राख्नु परेमा उचित चिस्यान (रेफ्रिजरेसन)को व्यवस्था गर्ने ।

दसैँलाई सुरक्षित र हर्षोल्लासपूर्ण बनाउन सरकार, व्यवसायी र उपभोक्ता सबै आ–आफ्नो ठाउँबाट जिम्मेवार बन्नु आवश्यक छ । ‘स्वच्छ मासु, स्वस्थ जीवन’ भन्ने नारालाई व्यवहारमा उतार्न सके मात्र नेपाली उपभोक्ताहरू रोगको जोखिमबाट बच्न सक्छन् ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार