सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज तीन दशकसम्म पनि सञ्चालनमा आउन सकेको छैन । बलरा नगरपालिका–१० र रामनगर गाउँपालिका–१ को सिमाना सुदामामा निर्माण भएको सिँचाइ ब्यारेज ३१ वर्षदेखि अलपत्र अवस्थामा छ । बाह्रै महिना पानी बग्ने एकादशी खोलामा २०५२ सालमा ब्यारेज निर्माण गरिएको थियो ।
सुदामा, छोटउल, अचलगड, बलरा अर्नाह, मिर्जापुर, छतौना, खेअर्वा, रामनगर बहुअर्वालगायत साविक दर्जन बढी गाविसका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित निर्माण भएको ब्यारेज प्रयोग नै नभई अलपत्र बनेको हो । ब्यारेज रु छ करोड लागतमा निर्माण भएको थियो । कृषिको उर्वर भूमिका रूपमा रहेको यस क्षेत्रमा सिँचाइको भरपर्दो सुविधा नहुँदा किसान वर्षाको पानीकोे भरमा खेती गर्न बाध्य छन् ।
यस क्षेत्रका सयौँ बिघा खेतीयोग्य भूभाग वर्षात्मा जलमग्न र हिउँदमा खण्डहर बन्ने गरेको बलरा नगरपालिका–५ मिर्जापुरका किसान शङ्कर साहले गुनासो गरे । ‘ब्यारेजसँग जोडिएको एउटा नहर छ,’ उनले भने, ‘त्यो पनि अव्यवस्थित छ ।’ नहरबाट आएको पानी वर्षायाममा अनियन्त्रित भइ ब्यारेज नजिकका केही किसानको खेतसम्म पुग्छ । बाँकी क्षेत्रका किसानले पम्पसेट र विद्युत् मोटरको भरमा जेनतेन खेती गरिरहेका उनको गुनासो छ ।
यसरी गरिएको खेती मौसम प्रतिकूल हुँदा खेर जाने गरेको उनको अनुभव छ । ब्यारेज निर्माण भएको ठाउँ जिल्लाको दक्षिणपश्चिम क्षेत्रमा पर्छ । उत्तरी क्षेत्र रामनगर गाउँपालिकाका भूभागमा सिँचाइ गर्न नसकिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । ‘यहाँको भूभाग कोल्टे पर्छ,’ रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले भने, ‘सुरुमा हालको रामनगर र बलराको लागि भनेर ब्यारेज निर्माण भएको देखिन्छ ।’
अध्यक्ष यादवका अनुसार गलत ठाउँ परेकाले रामनगरका किसानका लागि त्यो उपयुक्त भएन । ‘ब्यारेजबाट पानी उत्तरतर्फ आउँदैन । त्यसैले सोही खोलाको माथिल्लो स्थानमा बाँध निर्माण गरेर सिँचाइ सुविधा पुर्याइरहेका छौँ,’ उनले भने । नहर निर्माण गरी व्यवस्थित गर्नसके हालको बलरा नगरपालिकाका सम्पूर्ण खेतीयोग्य भूभागमा सिँचाइ सुविधा पुग्ने नगर प्रमुख रामाशङ्कर प्रसाद कुशवाहाले बताए ।
ब्यारेज नै अलपत्र पर्दा समस्या भएको उनको भनाइ छ । ब्यारेजको संरक्षण स्वामित्व कसैले नलिएकाले जीर्ण बनेको उनले स्वीकार गरे । आफू नगरप्रमुख भएर आएपछि बजेट विनियोजन गरी ब्यारेजको सामान्य मर्मतसम्भार गरेको उनको भनाइ छ । नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा ब्यारेज मर्मत तथा सौन्दर्यकरणका लागि बजेट विनियोजन गरेको थियो । ब्यारेज र पार्कलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने नीति लिएको उनले बताए ।
सङ्घ र प्रदेश सरकारसँग व्यवस्थापनसँगै नहर निर्माण योजना पेस गरेको नगर प्रमुख कुशवाहाले बताए । ब्यारेजका लागि गत आर्थिक वर्षमा प्रदेश र सङ्घीय सरकारले रु पाँच करोड बजेट उपलब्ध गराएको थियो । समयमा काम हुन नसक्दा फिर्ता गएको उनको भनाइ छ । यस वर्षको रु दुई करोड बजेटबाट नहरको काम गर्ने तयारी गरिएको नगर प्रमुख कुशवाहले जानकारी दिए ।
ब्यारेज व्यवस्थापनका लागि आफलेू प्रदेश र सङ्घीय सरकारलाई पटकपटक आग्रह गरेको उनले दाबी गरे । तर, हालसम्म कुनै पनि प्रक्रिया अगाडि बढ्न नसकेको उनी बताउँछन् । ठूलो भूभागमा सिँचाइ हुने भए पनि ब्यारेज प्रयोगमा ल्याउन नसक्नु दुःखद् भएको उनको भनाइ छ । किसानको सुविधाका लागि आएको बजेट नगरपालिकाले काम नै नगरी फिर्ता गरेको स्थानीय किसानको आरोप छ ।
खेत नजिकै बाह्रै महिना खोला बग्ने तर आफूहरूले महँगोमा डिजल मोटर प्रयोग गर्नुपर्ने बाध्यता रहनु दुःखत भएको स्थानीय किसान गगनदेव सिंहले गुनासो गरे । पालिकाले सिँचाइ ब्यारेज व्यवस्थित गरी किसानको खेतसम्म पानी पुर्याउनुको साटो पार्क निर्माणमा खर्च गरेको उनको आरोप छ । ब्यारेज मर्मत गरी पक्की नहरको व्यवस्थासहित सिँचाइ सुविधा उपलब्ध गराउनुपर्ने स्थानीय किसानको माग छ । किसानले सुविधा पनि नपाउने, राज्यको ठूलो लगानी खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने उनीहरूको भनाइ छ ।
