नेपालमा भदौ १० गते आएको भोटेकोशी बाढीपछि विनाशकारी हिमपहिरोले हिमालय क्षेत्रमा तीव्र गतिमा हुने हिमचट्टान पहिरोको पहिचान र पूर्वसूचना दिन बढ्दो चुनौती देखाएको अन्तर्राष्ट्रिय विज्ञहरूले बताएका छन् । जलवायु परिवर्तनका कारण हिमनदी र स्थायी रूपमा जमेको जमिन अस्थिर बन्दै जाँदा यस्ता घटना आगामी दिनमा अझ बढ्न सक्ने उनीहरूले चेतावनी दिएका छन् ।
चिनियाँ अधिकारीहरूले गरेको प्रारम्भिक मूल्याङ्कनअनुसार जिरोङ बन्दरगाहमा पुगेको विपद्को मुख्य कारण नेपालतर्फको उच्च हिमाली क्षेत्रमा रहेको हिमनदीबाट सुरु भएको हिमचट्टान पहिरो थियो । लाङटाङ लिरुङ हिमालको उत्तरी ढलानमा करिब पाँच हजार २०० मिटरको उचाइमा रहेको हिमनदी भत्किएपछि पहिरो तीव्र गतिमा करिब चार हजार मिटरको उचाइसम्म झरेको थियो । त्यसक्रममा पहाडको ठूलो भाग बगाउँदै पहिरो विशाल गेग्रानसहितको बाढीमा परिणत भएको थियो ।
त्यो गेग्रानसहितको बाढी करिब २२ किलोमिटर बगेपछि करिब एक हजार ८०० मिटरको उचाइमा रहेको जिरोङ बन्दरगाह पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार प्रारम्भिक हिमनदी भत्किएको करिब ६ देखि ७ मिनेटमै गेग्रानसहितको बाढी बन्दरगाहसम्म पुगेको थियो । घटनाको तीव्र गतिले यस्तो विपद्को पूर्वसूचना दिने समय निकै छोटो हुने देखाएको छ ।
अस्ट्रियाको ग्राज विश्वविद्यालयका भूविज्ञ याकोब स्टाइनरले भूउपग्रहबाट खिचिएका तस्बिर र पहिरोले बनाएको गहिरो घाउको अध्ययन गर्दा घटना हिमनदीको अस्थिरताभन्दा चट्टानी पहाडको आधारभूत भाग भत्किएर सुरु भएको हुन सक्ने बताएका छन् । उनका अनुसार त्यसपछि हिम र बरफ पहिरोमा मिसिएर बाढीको मात्रा र फैलावट बढाउन सहयोग गरेको हुन सक्ने देखिएको छ ।
स्टाइनरले पहिरोअघि देखिएको छोटो समयको हिउँ तथा बरफ पग्लिने अवस्थाभन्दा लामो समयदेखि भइरहेको वातावरणीय परिवर्तन र पहाडको ढलानमा बढेको अस्थिरता बढी महत्वपूर्ण हुन सक्ने बताएका छन् । पछिल्लो समय भएको हिउँ तथा बरफ पग्लिने क्रमले अन्तिम कारणको रूपमा काम गरेको हुन सक्ने र अन्यथा पहाड केही समयपछि मात्र भत्किन सक्ने उनको भनाइ छ ।
फ्रान्सस्थित ग्रेनोबल आल्प विश्वविद्यालयको पृथ्वी विज्ञान संस्थानकी भूआकृतिविज्ञ क्रिस्टेन कुकले पनि सुरुमा चट्टानी पहाड नै भत्किएको बताएकी छन् । पहिरोमा संलग्न चट्टानको तुलनामा हिमनदीको आकार निकै सानो रहेकाले प्रारम्भिक भत्काइमा हिमनदीको अस्थिरताको ठूलो भूमिका नरहेको हुन सक्ने उनको भनाइ छ ।
कुकका अनुसार पहाडको ढलानको दीर्घकालीन स्थायित्वमा जलवायु तापक्रम वृद्धि, भूगर्भीय प्रक्रिया र भौगर्भिक गतिविधिले संयुक्त रूपमा प्रभाव पारेको हुन सक्छ । यी पक्षबारे थप अध्ययन भइरहेको उनले बताएकी छन् । विज्ञहरूका अनुसार लाङटाङ लिरुङको घटनाले उच्च हिमाली क्षेत्रमा हुने विपद्को परम्परागत वर्गीकरणमाथि समेत प्रश्न उठाएको छ ।
कुकले यो घटना भारतको उत्तराखण्डमा सन् २०२१ मा भएको चमोली विपद्सँग धेरै मिल्दोजुल्दो रहेको बताएकी छन् । उनले नेपालको घटनालाई हिमताल फुटेर आउने बाढीका रूपमा मात्र बुझ्न नहुने स्पष्ट पारेकी छन् । उनका अनुसार यो सुरुवाती भत्काइपछि उपत्यकातर्फ निरन्तर बगेको चट्टान र बरफको पहिरो थियो ।
घटनामा सुरुमा पानी थुनिने र त्यसपछि बाँध फुट्ने अवस्था नरहेको उनले बताएकी छन् । त्यसैले हिमताल नै नभए पनि विनाशकारी बाढीजस्तो घटना हुन सक्ने भएकाले विपद् तयारीको दायरा फराकिलो बनाउनुपर्ने उनको भनाइ छ । सन् २०२१ मा भारतको उत्तराखण्डस्थित चमोलीमा भएको ठूलो हिम–चट्टान पहिरो उपत्यकातर्फ बग्दा व्यापक क्षति पुगेको थियो ।
त्यस घटनामा दुई जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको थियो भने २ सयभन्दा बढी मानिसको मृत्यु वा बेपत्ता भएका थिए । स्टाइनरले प्रक्रियागत रूपमा चमोलीको घटना लाङटाङ लिरुङसँग सबैभन्दा नजिकको उदाहरण रहेको बताएका छन् । यद्यपि दुवै घटनामा पहिरोको मात्रा र भौगोलिक अवस्था फरक रहेको उनले उल्लेख गरेका छन् । विज्ञहरूका अनुसार पछिल्लो घटनाले हिमताल फुटेर आउने बाढी लगायत परम्परागत रूपमा चिनिएका हिमनदीजन्य जोखिमभन्दा बाहिर गएर विपद् मूल्याङ्कन गर्नुपर्ने आवश्यकता देखाएको छ ।
तर यस्ता घटना हुनुअघि नै पहिचान गर्नु सबैभन्दा ठूलो चुनौती हुन सक्ने विज्ञहरूको भनाइ छ । कुकका अनुसार यस्ता घटनाका लागि भूकम्पीय गतिविधिको निगरानीमा आधारित प्रभावकारी पूर्वसूचना प्रणाली अहिले सञ्चालनमा छैन । भूउपग्रहमा आधारित पूर्वसूचना प्रणाली पनि व्यापक रूपमा प्रयोगमा आइसकेको छैन । नदी किनारमा जडान गरिने पानीको बहाव सम्बन्धी उपकरणमा पनि आफ्नै सीमा रहेको उनले बताएकी छन् ।
जुन बाढीको पहिचान गर्न ती उपकरण राखिन्छन्, त्यही बाढीले उपकरण नै बगाउन सक्छ । उपकरण बचेको अवस्थामा समेत बाढी सुरु भएको जानकारी पाएर त्यसको वास्तविक मात्रा तत्काल निर्धारण गर्न नसकिने भएकाले तल्लो क्षेत्रमा रहेका समुदायलाई समयमै उपयोगी सूचना दिन कठिन हुन सक्ने उनको भनाइ छ । स्टाइनरले यस्ता घटनाको पहिचान निकै कठिन हुने बताएका छन् ।
सम्भावित खतराको संकेत भेटिए पनि त्यसको सही अर्थ निकाल्न विज्ञको विश्लेषण आवश्यक हुने उनले बताए । कच्चा संकेतमा मात्र धेरै भर पर्दा अनावश्यक रूपमा धेरै गलत चेतावनी जारी हुन सक्ने जोखिमसमेत रहेको उनको भनाइ छ । उनका अनुसार पहाड भत्किनुअघि भूउपग्रहबाट प्राप्त तस्बिरमा देखिने असामान्य परिवर्तनको विश्लेषण गर्नु बढी उपयोगी हुन सक्छ ।
कुकले दुर्गम उच्च हिमाली क्षेत्रमा अस्थिर ढलान पहिचान गर्न भूउपग्रह र अन्य दूरसंवेदी प्रविधिको प्रयोगबाट स्वचालित ढलान विकृति निगरानी प्रणाली विकास गर्नुपर्ने बताएकी छन् । यसबाट जोखिमयुक्त पहाड पहिल्यै पहिचान गर्न सहज हुने उनको भनाइ छ । स्टाइनरले लाङटाङ लिरुङको घटनालाई एक्लो र असाधारण घटना मात्र मान्न नहुने बताएका छन् । उनका अनुसार हिमालय र अन्य उच्च हिमाली क्षेत्रमा यस्ता घटनाको क्रम बढिरहेको देखिन्छ र भविष्यमा यस्ता घटना अझ धेरै हुन सक्ने भएकाले त्यसका लागि तयारी आवश्यक छ ।
कुकले भने लाङटाङ लिरुङको घटना अत्यन्त ठूलो भए पनि आगामी दिनमा उच्च हिमाली एसियाका विभिन्न क्षेत्रमा चट्टान र बरफको पहिरोबाट बाढीमा परिणत हुने घटना बढ्न सक्ने बताएकी छन् । यद्यपि धेरैजसो घटना लाङटाङ लिरुङको तुलनामा निकै साना हुने उनको अनुमान छ । उनका अनुसार लाङटाङ लिरुङको घटनाभन्दा सय गुणा सानो पहिरोले समेत विनाशकारी बाढी निम्त्याउन सक्छ । सन् २०२३ मा जर्जियाको शोवीमा भएको गेग्रानसहितको बाढीलाई उनले यसको उदाहरणका रूपमा प्रस्तुत गरेकी छन् ।
उच्च हिमाली क्षेत्रमा विपद्को स्रोत अत्यधिक उचाइमा हुनु, भूभाग निकै भिरालो हुनु, पहिरो तीव्र गतिमा बाढीमा परिणत हुनु र पूर्वसूचनाका लागि उपलब्ध समय अत्यन्त छोटो हुनुजस्ता कारणले परम्परागत विपद् चेतावनी प्रणाली मात्र पर्याप्त नहुने विज्ञहरूको निष्कर्ष छ । त्यसैले जोखिमयुक्त ढलानको निरन्तर निगरानी, भूउपग्रहबाट प्राप्त तस्बिरको विश्लेषण, स्वचालित निगरानी प्रणालीको विकास तथा हिमाली क्षेत्रका समुदायलाई समयमै सूचना पुर्याउने प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

