२०८३ भदौ १९ , शुक्रबार 4, September 2026, Friday

भोटेकोशी बाढी : ‘त्रिशूली ३ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

त्रिशूली ३ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी र उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ । सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएपछि उद्धार कार्यलाई थप तीव्रता दिइएको रास्वपा सांसद श्रीराम न्यौपानेले जानकारी दिए ।

कार्यस्थलमै रहेर उद्धार कार्यमा संलग्न रहेका सांसद न्यौपानेका अनुसार उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनेको जानकारी दिएको हो । हाल नेपाली सेना र सशस्त्र प्रहरीको विशेष उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यमा जुटिरहेको छ ।

सांसद न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्यलाई तीव्रता दिइरहेको छ ।’ सांसद न्यौपानेले उद्धारमा खटिएका सुरक्षा निकाय र प्राविधिक टोलीप्रति सम्मान व्यक्त गर्दै सबैको सकुशल उद्धार हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार