भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका करिब ६०० विद्यार्थी सम्पर्कविहीन रहेका अनुमान गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयहरूका अनुसार रसुवामा २८० र नुवोकाटमा ३०० देखि ३५० सम्म बालबालिका सम्पर्कविहीन रहेको अनुमान छ ।
‘प्रधानाध्यापकहरूसँग सम्पर्क गरेर हराएका विद्यार्थीको तथ्याक माग गरिरहेका छौं । प्रअहरूले पनि एकीन तथ्याङ्क दिन सक्नुभएको छैन,’ नुवाकोट इकाई प्रमुख सूर्यबहादुर खत्रीले भने, ‘सम्पर्कविहीन भनिएका विद्यार्थी भेटिएका पनि छन् । कतिपय विद्यालयबाट सम्पर्कविहीन हुनेको संख्या थप पनि हुँदै गएको छ ।’
उनले नुवाकोटबाट मात्रै कम्तिमा ३०० देखि ३५० विद्यार्थी हराएको हुनसक्ने अनुमान गरिएको बताए । रसुवा इकाई प्रमुख दुर्गाप्रसाद सिलवालले २८० जना विद्यार्थी सम्पर्कविहीन रहेको बताए । सम्पर्कविहीनहरूको अवस्था आधिकारिक रुपमा पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ । दुवै इकाईले विद्यार्थीको नामवलीसहितको तथ्याङ्क संकलनको क्रममा रहेको जनाए ।
नुवाकोटको विदुर नगरपालिकाभित्रका मात्र २५० विद्यार्थी सम्पर्कविहीन रहेको शिक्षा शाखाका विद्यालय निरीक्षक नवराज सापकोटाले जनाए । ‘कतै अभिभावक भेटिएका छन् । विद्यार्थी भेटिएका छैनन,’ उनले भने, ‘कतै विद्यार्थी भेटिन्छन् । उनीहरूको अभिभावक फेला नपरेको अवस्था छ ।’ विदुरमा १४२ सामुदायिक र २८ निजी गरी १७० विद्यालय छन् ।
रसुवा र नुवाकोटमा शिक्षक र विद्यालय कर्मचारी गरी २२ जना सम्पर्कविहीन रहेको इकाईहरूले जनाएको छ । त्यसबाहेक धादिङ र गोरखाबाट गोसाईकुण्ड दर्शनका लागि गएका शिक्षकहरू पनि बाढीमा परेर सम्पर्कविहीन भएका थिए । रसुवा इकाईले सामुदायिकका १५ र निजी विद्यालयका १ शिक्षक गरी १६ जना सम्पर्कविहीन रहेको जनाएको छ ।
नुवाकोट इकाईले ६ जना शिक्षक सम्पर्कविहीन भएको पुष्टि गरेको छ । सामुदायिक विद्यालयका ४ र निजी विद्यालयका २ शिक्षक बाढीपछि सम्पर्कविहिन भएको जनाएको छ । सम्पर्कविहीनमध्ये विद्यार्थी, शिक्षकका शव विभिन्न जिल्लामा फेला परे पनि कति जनाको फेला पर्यो भन्ने पुष्टि हुन सकेको छैन ।
नुवाकोटको विदुर नगरपालिका–१० को उत्तरगया पब्लिक स्कुलका सञ्चालक तथा प्रिन्सिपल सोमलाल लावतले कति विद्यार्थी बाढीमा परे भन्ने एकीन गर्न नसकेको जनाए । ‘स्कुलको केहि पनि बाँकी छैन । बगर भएको छ । ढुंगे युगमा फर्केजस्तो भएको छ,’ उनले भने, ‘स्कुलका दुई वटा गाडी भेटिएका छैनन् । एउटा गाडीबाट ३० जना विद्यार्थी निकाल्न सफल भयौं । अरु कति विद्यार्थी बाँचे थाहा छैन ।’ उनका अनुसार ३६२ छात्राछात्र अध्ययरत थिए ।
अभिभावकसँग पनि सम्पर्क हुन नसकेकाले सम्पर्कविहीन विद्यार्थी संख्या एकीन गर्न नसकिएको उनले जनाए । रसुवाको उत्तरगया गाउँपालिका–५ को निलकण्ठ माध्यमिक विद्यालयमा ४९६ जना विद्यार्थी अध्ययनरत थिए । विद्यालयले २०० विद्यार्थीसहित ४ जना शिक्षक सम्पर्कमा नरहेको जनाएको छ । प्रअ माधव लामिछानेले २०० भन्दा बढी विद्यार्थी हराएको अनुमान गरिए पनि उनीहरूको नामवलीसहितको तथ्याङ्क भने तयार पार्न नसकिएको जनाए ।
बाढीले धादिङसहित ३ जिल्लाका २२ विद्यालय क्षति र प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ । जसमा १२ जिल्लामा पूर्णरुपमा क्षति पुगेको छ । रसुवा इकाई प्रमुख सिलवालले गोसाईकुण्ड र उत्तरगयाका ४ विद्यालय पूर्ण क्षति भएको जनाए । ‘३ सामुदायिक र १ निजी विद्यालय पूर्ण रुपमा क्षति भएको छ । विद्यालय क्षेत्र बगर बनेको छ । भवन पनि छैन,’ उनले भने ।
