कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका अर्गानिक स्याउको बिक्री नेपालगन्ज बजारमा शुरु भएपछि सो स्याउले भारत र चीनबाट आउने स्याउलाई विस्थापित गर्दै बजार लिन सफल भएको छ । भारतबाट आयात गरिने स्याउको तुलनामा कर्णाली प्रदेशको जुम्ला, कालीकोट, हुम्ला र मुगुमा फलेका स्वादिष्ट र सस्तो स्याउ अधिकांश उपभोक्ताको रोजाइमा परेकोले भारत र चीनबाट ल्याइएका स्याउको विक्री करिब बन्द भएको नेपालगन्जका थोक फलफूल व्यवसायी शमसेर राईले बताए ।
उनका अनुसार भारतबाट ल्याइने फलफूल अति नै मंहगो पर्ने हुँदा ती फलफूलको माग घटेकै बेला कर्णालीको सस्तो र स्वादिष्ट स्याउ बजारमा आएपछि उपभोक्ता उत्साहीत भएका छन् । फलफूल व्यवसायी राईले भने, ‘बाँकेको नेपालगन्ज, कोहलपुर, बर्दियाको गुलरिया, बाँसगढी र राजापुर, दाङको तुलसीपुर, घोराही र लमहीमा मुख्य फलफूल बजारदेखि गल्ली–गल्लीका ठेलासम्म अहिले राताम्मे कर्णालीकै स्याउ देख्न सकिन्छ, सस्तो मूल्य र उत्कृष्ट स्वादका कारण हरेक उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ पर्न थालेको छ ।’
नेपालगन्जका अर्का फलफूल व्यवसायी रमजान कबडियाका अनुसार भारतीय स्याउको तुलनामा कर्णालीको स्याउ निकै सस्तो र गुणस्तरीय भएकाले यसको माग यहाँ उच्च छ । भारतीय स्याउ प्रतिकिलो २५० रुपैयाँमा बिक्री भइरहेका बेला कर्णालीको ताजा र अर्गानिक स्याउ किलोको १५० रुपैयाँमै पाइन्छ । हिमाली हावापानीमा फलेको कर्णालीको स्याउ बढी स्वादिलो हुने भएकाले धेरै उपभोक्ता यसतर्फ आकर्षित भएका हुन् ।
व्यवसायी कबडियाले कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पुर्याउनु ठूलो चुनौती रहेको जनाउँदै तर राजमार्ग बनेपछि किसान र व्यापारी दुबैले सहज रुपमा स्याउ नेपालगन्ज र कोहलपुरमा पुर्याएर बिक्री वितरण गरिरहेको बताए । अर्का स्थानीय व्यवसायी इमरान कबडियासँग केही वर्ष अघिसम्म हवाईजहाजबाट नेपालगन्जसम्म स्याउ ढुवानी गरेर बिक्री वितरण गरेको अनुभव छ । त्यतिबेला कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो ।
उनले भने, ‘पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगन्ज ल्याएर बिक्री वितरण गर्नुपथ्र्यो, हवाईजहाजबाट ल्याउँदा स्याउ थिचिने सड्ने जोखिम धेरै हुन्थ्यो, कर्णाली राजमार्ग सञ्चालनमा आएपछि भने ढुवानीमा ठुलो परिवर्तन आएको छ । अहिले जुम्ला बाटै ग्रेडिङ गरेर प्याकिङ भई स्याउ सिधै बाँकेको बजारमा आइपुग्छ ।’ अहिले कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ स्थानीय बजारमा उपलब्ध छन् ।
नेपालगन्जको धम्बोझी, कारकाँदो र पुष्पलालचोक क्षेत्रमा कर्णालीका महिलाले फुटकर रुपमा स्याउ बिक्री वितरण गरिरहेका छन् भने ठुलो संख्याका स्थानीय व्यवसायीले ठेला, रिक्सा र पसलमा ती स्याउ बिक्री गरिरहेका छन् । जुम्ला गुठीचौर गाउँपालिका–४ निवासी स्याउ व्यापारी रामप्रसाद न्यौपानेले यो वर्ष कर्णालीको स्याउलाई रुखमै पाक्न दिएर टिपिएकाले थप स्वादिलो रहेको बताए । उनले चन्दननाथ नगरपालिका–१० गैरागाउँबाट खरिद गरेको ४४३ कार्टुन स्याउ नेपालगन्जको फलफूल बजारमा बिक्री गरेको बताए ।
सोही प्रकारले बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रमा दैनिक करिब तीनदेखि पाँच टनसम्म कर्णालीको स्याउ विक्री भैरहेको छ । सो केन्द्रका अनुसार जुम्लाबाट व्यापारीहरुले कर्णालीका स्याउ कोहलपुर र नेपालगन्ज पठाउने गरेको र त्यसको व्यापार कोहलपुुर र नेपालगन्जमा निकै फस्टाएको छ । भारत र चीनका स्याउले बाजार ओगटिरहेका बेला स्वदेशी स्याउ विक्रि गर्न पाउँदा निकै खुशी लागेको कोहलपुरका व्यवसायी धनिराम ओलीको भनाई छ ।

