२०८३ भदौ १९ , शुक्रबार 4, September 2026, Friday

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २८२ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा फेला परेका शवमा भारतमा भेटिएकासमेत समावेश छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार २८२ जनाको शव फेला परेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । महतका अनुसार उद्धार गरिएकामध्ये तीन हजारभन्दा बढीलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ । उनीहरूलाई सुरक्षित स्थानमा राखेर आवश्यक खाना, स्वास्थ्योपचारलगायत आधारभूत सेवा उपलब्ध गराउने काम भइरहेको छ ।

बाढीपछि खोज तथा उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी नायब महानिरीक्षक काफ्लेका अनुसार २१ हजार ४०२ जना सुरक्षाकर्मी खोज तथा उद्धारमा निरन्तर खटिएका छन् । बाढीमा परी घाइते भएका ३०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उद्धार गरिएका तथा प्रभावितलाई नेपाली सेना र सशस्त्र प्रहरी बलले समेत स्वास्थ्योपचार सेवा दिइरहेका छन् ।

प्राधिकरणका अनुसार नेपाली सेनाले तीन हजार २०६ जना र सशस्त्र प्रहरी बलले एक हजार ८७४ जनालाई स्वास्थ्य उपचार सेवा दिएका छन् । बाढीमा ठूलो जनधनको क्षति भएपछि अहिले सम्पर्कविहीनको खोजी, घाइतेको उपचार, प्रभावितको उद्धार तथा विस्थापितको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार