सूचनाको शक्ति - The Power Of Information

        

वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म

स्थानीय तहमा वडाका दैनिक काम काजमा वडाध्यक्षको व्यस्तता बढ्दो छ । पालिकाका प्रमुख, उपप्रमुखभन्दा वडाध्यक्षलाई वडाभित्रका काममा भ्याइनभ्याई नै हुन्छ । वडाको व्यस्त जिम्मेवारीले घरायसी काम काज, कृषि व्यवसायमा वडाध्यक्षले समय व्यवस्थापन गर्न गाह्रो हुन्छ ।

तर पाल्पाको रामपुर नगरपालिका–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले भने समय व्यवस्थापन गर्दै लोभलाग्दो कृषि व्यवसाय गर्दै आएका छन् । वडाध्यक्ष पोखरेलले भने, ‘वडाका काममा मात्र नभई कृषि व्यवसाय, सामाजिक कार्यलाई उत्तिकै सक्रियताका साथ गर्दै आएको छु ।’ व्यस्त समयका बाबजुद पनि उनको कृषि कार्यप्रतिको लगाव र मेहनत लोभलाग्दो छ ।

उनी वडाको जिम्मेवारी कुशलतापूर्वक निभाउँदै कृषि कार्यमा तल्लीन छन् । वडाध्यक्ष पोखरेल वडाका कामबाहेक उनी कृषि कर्ममै खटिन्छन् । ‘वडा तहबाट गर्ने काम सकिएपछि साँझ बिहानको समयमा तरकारी, अन्नबाली लगाउने, गोडमेल गर्ने, भैंसीको हेरचाह गर्ने लगायत काममा समय बिताउँछु,’ उनले भने, ‘यसरी काम गर्दा समय बितेको पत्तो हुँदैन ।’ रामपुर–५ मटेरीमा वडाध्यक्ष पोखरेलले कृषि कर्म गरेर आफ्नो जग्गा हरियाली बनाएका छन् ।

करिब १५ रोपनी जग्गामा तरकारी, अन्नबाली उत्पादन गरी उनले बिक्री गर्दै आएका छन् । हाल साढे पाँच रोपनी जग्गामा तरकारी खेती गरिएको छ । त्यसमध्ये साढे तीन रोपनीमा काउली, बन्दा, मुला, धनियाँ, साग छन् भने दुई रोपनीमा आलु खेती गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिए । काउली र बन्दागोभी बिक्री भइरहेको छ । उनी अब काँक्रो, भिण्डी, करेला, लौका, खुर्सानी, सिमी लगायत लहरेबाली जातका तरकारी लगाउने तयारीमा छन् ।

त्यसका लागि कार्यालय समय सकिएपछि सो कर्ममा खटिने गरेको वडाध्यक्ष पोखरेलले बताए । उनले करिब एक दशकदेखि तरकारी खेती गर्न थालेका हुन् । पहिला घरमा सिजनका तरकारी लगाउनुहुन्थ्यो भने पाँच वर्षदेखि यहाँको बजार बढ्दै जान थालेपछि व्यावसायिक हिसाबले उत्पादनमा जोड दिए । तरकारी, अन्नबाली, भैँसीपालनबाट वार्षिक रुपमा सरदरमा रु सातदेखि आठ लाख आम्दानी हुने गरेको उनले जानकारी दिए । वडाध्यक्ष पोखरेलले तरकारी खेती मात्र नभई धान, मकै, गहुँ, तोरी जस्ता अन्नबाली लगाउने, भैँसीपालनलाई जोड दिएका छन् ।

‘सबै क्षेत्रबाट आम्दानी भइरहेको छ, वडाको काम सकिएपछि घरको काममा समय खर्चेको छु, फुर्सदको समय छैन, वडाका विभिन्न काम तथा योजनामा कहिलेकाही विवाद पनि हुन्छन्, सबैलाई मिलाएर काम गरिरहेको छु, घरको आयआर्जनका लागि कृषि पेशालाई निरन्तरता दिनुपर्यो,’ वडाध्यक्ष पोखरेलले भने । दैनिक बिहान ४ बजे उठेर पशुको आहार व्यवस्थापन, तरकारीको रेखदेख, सिँचाइ जस्ता काम सकेर कार्यालय तथा सामाजिक काममा निस्कन्छन् । यसरी निरन्तर रुपमा उनको दैनिकी बितिरहेको छ ।

कार्यालय बिदा तथा शनिबारको दिन समय मिलाएर तरकारी लगाउने, थाक्रा दिने, खेतबारी खनजोत जस्ता कार्यमा उनलाई भ्याइनभ्याइ हुन्छ । वडाध्यक्ष पोखरेल दैनिक कार्यतालिका बनाएर भोलिपल्ट गर्ने काम अघिल्लो दिन नै तय गर्ने गरेको बताउँछन् । वडाध्यक्ष पोखरेल भन्छन्, ‘समय अनावश्यक ठाउँमा बिताएको छैन, बिहान सबेरै उठ्ने आफ्नो घरको काम सक्ने अनि वडा तथा सामाजिक कार्यमा निस्कने गरेको छु ।’

वडाध्यक्ष पोखरेललाई यस व्यवसायमा श्रीमती भगवतीले साथ दिँदै आएकी छन् । वडा तथा सामाजिक कार्यमा व्यस्त रहँदा खेतीबाली, पशुको रेखदेख, संरक्षण भगवतीले सम्हाल्छिन् । सिँचाइका लागि निजी इनार निर्माण गरी व्यवस्थापन भइरहेको छ । स्थानीय बजारमा नै तरकारी खपत हुँदा बिक्रीका लागि झण्झट छैन । उनले कृषिबाटै दुई छोराछोरीलाई काठमाडौँमा राखेर उच्च शिक्षा दिलाएका छन् ।

आफूले कृषि कर्म गरेर दुःखसँग पढाएको छोरा सरकारी सेवामा कार्यरत भएको देख्न पाउँदा उनलाई कृषि पेशाप्रति झन् मोह बढेको छ । नगरकै केन्द्र भाग, बजार क्षेत्र, सरकारी तथा सामुदायिक सङ्घ संस्था, बैंक तथा वित्तीय कार्यालय, ठूलो जनघनत्व यही वडामै छ । रामपुरका १० वटा वडामध्ये धेरै जनसङ्ख्या बसोबास गर्ने, बजार क्षेत्र रहेकाले वडाका काम सम्हाल्न अन्यत्र वडामा जस्तो सहज छैन । सानैदेखि कृषि पेशामा आबद्ध वडाध्यक्ष पोखरेलको यो कार्य उदाहरणीय बनेको छ ।

स्रोत : रासस
प्रकाशित मिति : २० माघ २०८१, आइतवार ०९:१४

लोकप्रिय