सूचनाको शक्ति - The Power Of Information

        

दाङका विकट बस्तीमा पुर्‍याइँदै विद्युत् सेवा

दाङका विकट क्षेत्रका नागरिकलाई विद्युत् पुर्‍याउने गरी काम थालिएको छ । पश्चिम दाङको विकट क्षेत्र शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाकै केही भागमा अझै पनि विद्युत् नपुगेको जनाउँदै ती स्थानमा विद्युत् पुर्‍याउने गरी काम अगाडि बढाइएको नेपाल विद्युत् वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशलीलले बताए ।

उनका अनुसार अझै पनि यी क्षेत्रका चार हजार दुई सयभन्दा बढी घरधुरीमा विद्युत् नपुगेकाले ती क्षेत्रमा विद्युत् पुर्‍याउनका लागि प्रक्रिया अघि बढेको हो । ‘म प्रमुख हुँदासम्म यहाँका विकट बस्तीका घरमा विद्युत् पुर्‍याउने योजना छ, जिल्लाका विकट बस्तीमा अझै पनि विद्युत् पुगेको छैन,’ उनले भने, ‘त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ ।’

ती बस्तीमा विद्युत् पुर्‍याउनका लागि करिब २५ करोड रूपैयाँ बजेट सुनिश्चित भइसकेको समेत बताए । त्यो बजेट कार्यान्वयन भएमा सबै ठाउँमा विद्युत् पुग्ने उनको भनाइ छ । चीनको एआइआइबी बैंकको लगानीमा विद्युत् विस्तार हुन लागेको हो । ‘दाङजस्तो विकसित जिल्लामा समेत अझै पनि विद्युत् नपुगेको ठाउँ छ, भन्दा अच्चमा लाग्ने गर्छ,’ प्रमुख गोशलीले भने, ‘अब सबै ठाउँ विद्युत् पुग्यो, भन्ने बनाउनु छ ।’

दंगीशरण गाउँपालिकाको वडा नं १, शान्तिनगर गाउँपालिकाको वडा नं १, २ र ३, बबई गाउँपालिकाको वडा नं १, ५ र ७ तथा तुलसीपुर उपमहानगरपालिकाको १, ३, ४, ८ र १२ नम्बर वडाका केही बस्तीमा अझै पनि विद्युत् पुग्न सकेको छैन । केही समयअघि दाङको तुलसीपुर–४ खुमखानी, शान्तिनगर गाउँपालिका–१ बस्तीखोला, हारीचारजस्ता विकट ठाउँमा विद्युत् पुर्‍याइएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार ०८:५३

लोकप्रिय