पाकिस्तानकी पहिलो नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजईले बुधबार देशको अशान्त उत्तरपश्चिमी खैबर–पख्तुनख्वा प्रान्तमा रहेको आफ्नो गृहनगरको भ्रमण गरेकी छिन् । २०१२ मा तालिवानले उनीमाथि गोली प्रहार गरेर आक्रमण गरेको थियो ।
सो पश्चात् उनी पहिलो पटक गृहनगर पुगेर परिवारका सदस्यहरूलाई भेटेकी हुन् । स्थानीय करौडा प्रहरी चौकीका स्टेशन हाउस अफिसर अमजद आलम खानले डन डटकमलाई बताए अनुसार मलालासँगै उनका बुबा जियाउद्दीन युसुफजई र पति असिर मलिक पनि थिए । मलाला र मलिकले २०२१ मा विवाह गरेका थिए ।
आलम खानका अनुसार मलालाले जिल्लाका करिब एक हजार किशोरीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्न २०१८ मा स्थापना गरेको स्कूल र कलेजको पनि भ्रमण गरेकी थिइन् । पहिले जिल्लामा किशोरीहरूको लागि कुनै पनि सरकारी कलेज थिएन ।
स्टेशन इन्चार्जले भने, ‘मलालाले कक्षाहरूको निरीक्षण गरिन्, विद्यार्थीहरूलाई भेटिन् र उनीहरूलाई आफ्नो पढाइ र भविष्यमा ध्यान केन्द्रित गर्न अपील गरिन् ।’ यस अवसरमा शिक्षा कार्यकर्ता शहजाद रोय पनि उपस्थित थिए, जसले जिन्दगी ट्रस्ट अन्तर्गत शाङ्ला गल्र्स स्कूल एण्ड कलेज चलाउँछन् । रोयले मलालालाई कलेजले प्रदान गर्ने सुविधाहरूको बारेमा बताएका थिए ।
यो छोटो भ्रमणपछि मलाला इस्लामाबाद फर्किइन् । तालिबान आक्रमणपछि मलालाको पहिलो पाकिस्तान भ्रमण २०१८ मा भएको थियो । त्यसपछि उनी २०२२ मा अभूतपूर्व मनसुनी वर्षा र बाढीबाट क्षतिग्रस्त क्षेत्रहरूको भ्रमण गर्न र पीडितहरूलाई भेट्न पाकिस्तान आइन् । मलालाले यस वर्ष जनवरीमा इस्लामाबादमा मुस्लिम समुदायमा किशोरीहरूको शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पाकिस्तानको पनि भ्रमण गरेकी थिइन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । पाकिस्तान