मधेसमा खस्किएको जनाधार फर्काउने भन्दै नेकपा माओवादी केन्द्रले एक महिने तराई–मधेस जागरण अभियान सुरु गरेको छ । फागुन १२ गतेदेखि कोसी प्रदेशको झापाबाट सुरु गरिएको उक्त अभियान मधेस प्रदेशको सप्तरी, सिराहा हुँदै आइतबार धनुषामा पुगेर तीन दिनका लागि स्थगित गरिएको छ । अब २२ गतेदेखि महोत्तरीबाट पुनः निरन्तरता दिइने माओवादीले जनाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अधिकांश पदाधिकारीहरू यस अभियानमा सक्रियरुपले सहभागी भएका छन् ।
अभियान अवधिभर नेताहरू जनताकै घरदैलोमा पुगेर उनीहरूसँगै बास बसेका थिए । अभियानभर होटेलमा नबसेर जनतासँगै बस्ने माओवादीको घोषित नीतिअनुसार अध्यक्ष प्रचण्डसहित नेताहरू जनताकै घरमै पुगेर खाना खाने र त्यही बास बस्ने गर्दै आएका छन् । कुनै समय मधेसमा माओवादीको बलियो जनाधार रहेको थियो । सिराहाबाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचितसमेत भएका थिए । तर, गत निर्वाचनको मतपरिणामले भने माओवादीको अवस्था निकै कमजोर देखिएको छ ।
तराई–मधेस जागरण अभियानले जनतासँग टुटेको सम्बन्ध जोडिने र पार्टीमा सांगठनिक उभार आउने अपेक्षा माओवादी नेताहरूले गरेका छन् । यस अभियानले मात्रै माओवादी पूर्ववत् अवस्थामा फर्किने अवस्था न्यून रहेको मधेसका पूर्वमाओवादी नेता एवं पत्रकार रामरिझन यादव बताउँछन् । यो अभियानले पार्टीभित्र व्याप्त गुटबन्दीको अन्त्य नगर्ने हुँदा सांगठनिक उभार आउने सम्भावना न्यून रहेको उनको निचोड छ ।
उनी भन्छन्, ‘पार्टी बन्न मूल कुरा आन्तरिक पक्ष नै बलियो र चलायमान हुन आवश्यक छ । तर मधेसमा माओवादीको दुई समूहहरू समानान्तर गतिविधिमै सक्रिय रहेर संगठन निष्क्रियजस्तै बनेको छ ।’ उनले मधेसमा साबिकको माओवादी र पूर्व एकता केन्द्रको गुटले पार्टी संगठन भद्रगोल भएको बताए । बाह्य कार्यक्रममा जनताको सहभागितालाई लिएर मात्रै संगठन बलियो नहुने उनको तर्क छ । मधेसमा एकातिर जनमत गुमाएर माओवादी कमजोर बन्दै गइरहेको छ भने त्यसैमाथि आन्तरिक गुटबन्दीले पनि सांगठनिक गतिरोध उत्पन्न भएको छ ।
मधेसमा माओवादीभित्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको पूर्व एकता केन्द्र समूहको छुट्टै बलियो गुट सक्रिय रहेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ निकटका नेताहरूले त्यहाँ आफ्नो पूर्ववत् गुटमार्फत समानान्तर गतिविधि गर्दै आएका छन् । माओवादीभित्र एकता प्रक्रियाबाट आएको पूर्व एकताकेन्द्र समूह र जनयुद्धकालीन माओवादीबीचको गुटकै लडाइँले मधेसमा अझैसम्म प्रदेश कमिटी गठन हुनसकेको छैन भने जिल्लाहरूमा पनि आपसी सहमति नजुट्दा पार्टीको सांगठनिक संरचनाले समेत पूर्णता पाएको छैन ।
यहीबीचमा माओवादीको भर्खरै तोकिएको कार्य विभाजनमा मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी मातृका यादवलाई दिइएको छ । उनी मधेसकै धनुषा जिल्लाका माओवादी नेता हुन् । त्यसअघि लिलामणि पोखरेलले इन्चार्जको जिम्मेवारी पाएका थिए । पोखरेलले आफ्नो कार्यकालमा मधेसमा समन्वयकारी भूमिका निर्वाह गर्दै दुवै गुटलाई मिलाएर लैजान असफल भएपछि भूगोलकै नेता यादवलाई इन्चार्ज बनाइएकोे हो ।
पाखरेल आफैँ पूर्व एकता केन्द्र समूहकै नेता भएकाले माओवादी पक्षधरहरूले असहयोग गर्दा मधेसमा सर्वस्वीकार्य हुन नसकेको बताइन्छ । यद्यपि, पछिल्लो समय वरिष्ठ उपाध्यक्ष श्रेष्ठसँग लिलामणि पोखरेल असन्तुष्ट रहेर प्रचण्डसँग निकट भएको माओवादी वृत्तमा चर्चा छ । यसअघि पनि पूर्व एकता केन्द्र पक्षकै गिरिराजमणि पोखरेल इन्चार्ज हुँदा मातृका यादव समूहले उनलाई अस्वीकार गर्दा संस्थागत रुपमा पार्टीको कार्यक्रम हुनसकेको थिएन । त्यस समयमा पार्टीगतभन्दा पनि गुटगत कार्यक्रम हाबी भएको थियो ।
पार्टी चलायमान बनाउन व्यवस्थित संगठन र नेता कार्यकर्तालाई उचित भूमिकासहित परिचालन गर्न नसक्दा मधेसमा माओवादीको सांगठनिक अवस्था अस्तव्यस्त बनेको मधेस प्रदेश इन्चार्ज मातृका यादव स्विकार्छन् । जागरण अभियानमा भने नेता कार्यकर्ता सामूहिक रूपमै पार्टी बनाउन प्रतिबद्ध भएर लागेको उनी बताउँछन् । मधेस प्रदेश इन्चार्ज यादव भन्छन्, ‘मधेस प्रदेशमा पार्टीभित्र केही समस्याहरू पहिल्यैदेखि थिए । तर अहिलेको जागरण अभियानले नेता कार्यकर्तालाई पार्टीमै गोलबन्द गरी एकताबद्ध बनाउन सबै लागेका छौँ ।’
अब मधेसमा कुनै गुट नहुने र सबै पार्टीमै एकताबद्ध हुने उनले दाबी गरे । यस अभियानले सांगठनिक जीवनमा उभार ल्याउनेमा उनी आशावादी छन् । तराई मधेस जागरण अभियानले गुटबन्दीको अन्त्य गरी संगठन मजबुत बनाउन उल्लेख्य भूमिका खेल्ने यादवको जिकिर छ । तर, यही अभियानका हरेक कार्यक्रममा समेत गुटगत प्रभाव देखिएको माओवादी स्रोत बताउँछ । पछिल्लो जागरण अभियानका क्रममा मधेसका जिल्लाहरूमा पार्टीभित्र लोकतान्त्रिकरणको प्रस्ताव राखेका उपमहासचिव जनार्दन शर्मालाई बोल्न नदिइएको विषय व्यापक रुपमा उठेको छ ।
माओवादीमा प्रवेश गरिनसकेका तर भित्रिने अन्तिम तयारीमा रहेका नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादवलाई प्राथमिकता दिएर बोल्न दिइएको तर पार्टीकै अन्य नेताहरूलाई भने समय नदिएको भन्दै कतिपय नेताहरूले कार्यक्रम स्थलमै असन्तुष्टि व्यक्त गरेका थिए । मधेसको कार्यक्रममा अध्यक्ष प्रचण्डसहित प्रदेश इन्चार्ज रहेका मातृका यादव, नेसपा अध्यक्ष महिन्द्रराय यादव र पार्टी उपाध्यक्ष पम्फा भुसाललाई मात्रै बोल्न दिइएको छ । र, अन्य नेताहरुका लागि कार्यक्रममा सम्बोधन गर्न समय नछुट्याइएपछि गुटगत प्रभाव सतहमै आएको नेताहरू बताउँछन् ।
मधेस इन्चार्ज यादवको गृहजिल्ला धनुषामा उपमहासचिव शर्मालगायतका नेताहरू स्थानीय नेता कार्यकर्ताको घरमा बस्ने तयारी गर्दा गुटगत गतिविधि गर्ने भयले त्यहाँ बस्न नदिई प्रदेश इन्चार्ज यादवले आफ्नै घरमा लैजानै प्रयत्न गरेका थिए । उनले पार्टी कार्यकर्ताको घरमा बसेका नेताहरूलाई आ–आफ्नै तवरले कार्यकर्तामाझ बसेर गुटगत गतिविधि गर्न पाइँदैन भन्दै आफ्नो घरमै बास बसाल्ने प्रबन्ध गरेको बताएका थिए । तर, नेताहरूले कार्यकर्ताकै घरमा बस्ने अडान लिएपछि यादव रुष्ट भएर फर्किएको माओवादीका एक पदाधिकारीले सुनाए ।
प्रदेश इन्चार्ज यादव भने यस अभियानभर गुटगत गतिविधिमा आफू कतै सहभागी नभएको दाबी गर्छन् । उनले यस अभियानमा कहीँकतै पनि पनि गुटको छनक नदेखिएको सबै अभियान सफल पार्न लागेको बताए । प्रचण्डसहितका नेताहरूले सक्रियता बढाए पनि पार्टीको आन्तरिक किचलो र मधेसमा जनताको अविश्वासले पुरानो साख फर्किन निकै कठिन छ । माओवादी सचिव राम कार्की पनि बाहिरी भीडभाड र औपचारिक कार्यक्रममा जनताको उपस्थितिले मात्रै संगठन बलियो हुनेमा विश्वस्त छैनन् ।
उनी बाह्य भीडभाड भन्दा पनि पार्टीको सांगठनिक जीवनमा आउने सकारात्मक परिणामका आधारमा मात्रै अभियानको उपलब्धि निक्र्योल हुने बताउँछन् । ‘जनतासँग जोडिने माध्यम त बनेको छ, तर यसले मात्रै गुमेको साख फर्किनेमा विश्वस्त हुन सकिँदैन,’ सचिव कार्कीले भने, ‘माओवादीप्रतिको आशा पुनःजागृत हुन थाले पनि यत्तिले मात्रै पुग्दैन, अब व्यवहारमै रुपान्तरित भएर परिणाम दिन जरुरी छ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
शरद रिजाल । काठमाडौं