सूचनाको शक्ति - The Power Of Information

        

भीम रावलसँगै धनगढी पुगे कर्ण थापा, संयोग कि सल्लाह ?

नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावल र एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाको एकसाथ धनगढी पुगेका छन् । शुक्रबार बिहान श्री एयरको जहाजमा एउटै सिटमा बसेर रावल र थापा धनगढी पुगेका हुन् ।

रावल एमालेबाट निष्कासित भएपछि नयाँ पार्टीको अभियानमा छन् । थापा रावललाई कारबाही गर्नु नहुने पक्षमा थिए । उनीहरु सँगैसँगै यात्रा गर्नुको पछाडिलाई एमालेभित्रको राजनीतिक कोर्षलाई महत्वपूर्ण ढंगले हेरिएको छ भने कतिपयले संयोगको यात्रा ठानेका छन् । धनगढी विमानस्थलमा रावलको स्वागतका लागि उनका समर्थक पुगेका थिए ।

थापा भने एउटा सरकारी गाडीमा विमानस्थलबाट धनगढीतर्फ लागेका थिए । नेता रावल एमालेले पार्टीबाट निष्कासित गरेपछि पहिलोपटक गृहप्रदेश सुदूरपश्चिम यात्रामा निस्केका हुन् । एमालेको पूर्वउपाध्यक्ष समेत रहेका रावललाई पुस १० गते बसेको सचिवालय बैठकले निष्कासन गरेको थियो ।

थापाले भने, ‘एमाले छोड्ने हल्ला निराधार’

पूर्वमन्त्री एवं नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले एमालेबाट निष्कासित भएका डा भीम रावलको पार्टीमा प्रवेश गर्न लागिएको हल्ला निराधार भएको बताएका छन् । शुक्रबार रावलसँगै श्रीएयर लाइन्सको जहाजको एउटै ‘रो’को सिटमा बसेर धनगढी आवरण गरेका थापाले एमाले छोड्न लागेको हल्ला निराधार भएको बताएका हुन् । आफू पार्टी कामको शिलशिलामा बाजुरा जाने क्रममा संयोगवश एउटै ‘रो’मा देखिएको स्पष्ट पार्दै अन्य भित्रि उद्देश्य केही नभएको बताए ।

‘म बाजुरामा हुन लागिएको पार्टीको पालिकास्तरीय अधिवेशनमा भाग लिन धनगढी आएको हुँ । उहाँ पनि एउटै एयरलाइन्सको टिकट काट्नुभएछ । सँगै फोटो देख्दैमा शङ्का गर्नु राम्रो होइन । म पार्टी कामले आएको हुँ । भीमजी आफ्नै कामले आउनुभएको होला । एमाले छोड्न लागेको हो कि भन्ने हल्ला निराधार हो,’ उनले भने । आफू पहिला पनि पार्टी हितमा काम गर्दै आएको र भविष्यमा पनि पार्टीलाई बलियो र अनुशासित पार्टी बनाउनेमा सक्रिय भूमिका रहने उनले बताए ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार १२:२२

लोकप्रिय