सूचनाको शक्ति - The Power Of Information

        

हिउँदे वर्षाले किसानलाई राहत

वर्षा हुँदा देखिएको डडेलधुरा जिल्ला सदरमुकाम क्षेत्र ।

यस वर्षको हिउँदमा पहिलो ठुलो वर्षा भएको छ । हिउँद सुरु भएपछि वर्षा नै नभएको डडेलधुरामा पर्याप्त वर्षा हुँदा चिसो ह्वात्तै बढेको छ । बिहीबार बिहानैदेखि भएको वर्षाले चिसो बढेपछि जनजीवन प्रभावित भएको छ तर खेतीपाती गर्ने किसानलाई भने निकै ठुलो राहत भएको छ ।

जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय डडेलधुराका कार्यालय प्रमुख श्याम सुनारका अनुसार बिहीबार बिहानदेखि दिउँसो २ः४५ बजेको समयसम्म ८.७ मिलिमिटर वर्षा भएको छ । बिहान करिब ७ः०० बजेदेखि भएको सामान्य वर्षा दिउँसोपछि मध्यम वर्षा भएको थियो । यो वर्षा यस वर्षको हिउँदेयाममा हालसम्मकै उच्च रेकर्ड रहेको उनले बताए ।

उनका अनुसार बिहीबार डडेलधुराको अधिकतम तापक्रम सात डिग्री सेल्सियस र न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको छ । यस हिउँदको यो समयमा भएको पर्याप्त वर्षाले व्यावसायिक रूपमा फलफूल खेती गरिरहेका किसानलाई ठुलो राहत भएको अमरगढी नगरपालिका–५, चिरकिट्टे गाउँका किसान प्रजापति पनेरुले बताए ।

महाभारत पर्वत क्षेत्रमा एक हजारभन्दा बढी किवीका बिरुवा रोपेर व्यावसायिक फलफूल खेती गर्र्दै आइरहेका पनेरुले यसअघि मङ्सिर र पुस महिनामा हल्का वर्षा र हिमपात हुँदा पनि बोटबिरुवा र बालीनालीलाई राहत पुगेको बताए । बिहीबार पर्याप्त वर्षा हुँदा फागुन, चैत महिनामा पर्ने खडेरीलाई समेत राहत पुग्ने उनको भनाइ छ ।

अजयमेरु गाउँपालिका–२, बडी गाउँमा आठ हजारभन्दा बढी अनारका बिरुवा रोपेर व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित भएका मदन पनेरुले वर्षा हुँदा खुसी लागेको बताए । पर्याप्त सिँचाइको व्यवस्था नहुनु र यस वर्ष हालसम्म ठुलो वर्षा नहुँदा पानी मुहान सुक्दै गर्दा भएको वर्षाले बोटबिरुवासँगै परम्परागत गहुँ, मुसुरो, केराउ, मटर खेतीलाई निकै राहत भएको उनको भनाइ छ ।

डडेलधुरामा बर्खे र हिउँदे गरेर एक हजार ३७१ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आएको छ । प्रतिहेक्टर उत्पादकत्व १३.४ प्रतिशत रहेको छ । वर्षभरिमा १८ हजार ४६१ किलोग्राम तरकारी उत्पादन हुने गरेको तथ्याङ्क कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताए । उनका अनुसार डडेलधुरामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँ खेती र ४३५ हेक्टर क्षेत्रफलमा मुसुरो दालको खेती गरिन्छ ।

अहिले भएको वर्षा गहुँका लागि पर्याप्त भएको उनले बताए तर टिप्न लागेका तरकारी खेती र खनिन लागेको आलुमा भने केही असर पुग्ने उनको भनाइ छ । यसैगरी डडेलधुरामा यस वर्षदेखि एक हजार २०० हेक्टर बढी जमिनमा आलु खेती गरिँदै आएको छ । गत वर्षको तथ्याङ्क अनुसार डडेलधुरामा करिब २५ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार १०:१६

लोकप्रिय