दसैँ भन्नेबित्तिकै तपाईंको दिमागमा सबैभन्दा पहिला के आउँछ ? मांसाहारी हो भने पक्कै पनि दसैँ भन्नेबित्तिकै तपाईं मासु सम्झनुहुन्छ । अरू बेलामा भन्दा दसैँमा माछामासु खाने चलन धेरै हुन्छ । तपाईंलाई तारेको मासु मनपर्छ कि ग्रेभी ? कि सेकुवा ? पक्कु पनि मनपर्छ ? चाडपर्वमा आ–आफ्नो रोजाइ र स्वाद अनुसार मासु खाने गरिन्छ ।
कतिपयको घरमा त दसैँमा हरेक छाकजस्तै नै मासु खाने चलन हुन्छ । कसैलाई खसीको मासु मनपर्छ, कसैलाई कुखुराको । अझ दसैँको समयमा त च्याङ्ग्राको मासु धेरै मान्छेको रोजाइमा परिरहेको हुन्छ । अनि कोही बंगुर र राँगाको मासु खानुहुन्छ । तारेर, झोल हालेर, पक्कु बनाएर, सेकुवा बनाएर अनि कतिजना त काँचै मासु पनि खाइराख्नु भएको हुन्छ ।
दसैँमा शाकाहारी बाहेक अधिकांशको खाना मासुमै निर्भर हुन्छ । यदि कोही व्यक्ति मधुमेह, उच्च रक्तचाप या त मुटुसँग सम्बन्धित् स्वास्थ्य समस्यामा हुनुहुन्छ भने निरन्तर रूपमा मासु खानु त्यति स्वस्थकर मानिँदैन । हामीले माछामासु दैनिक रूपमा खाने भनेको कोही व्यक्तिलाई कुनै पनि खालको स्वास्थ्य समस्या छैन भने त्यस्तो व्यक्तिले दिनमा एकसय ग्राम मासु खानु उपयुक्त मानिन्छ ।
त्यो भनेको ७ देखि ८ पिस हुन्छ । मुटुरोग, मधुमेहजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूले चाहिँ हप्तामा तीनदेखि चार दिन मात्रै खानु भन्छौँ हामी । एकदिन बिराएर । त्यसरी खाँदा पनि खानामा मिसाएर, बिहान २–३ पिस र बेलुका २–३ पिस खानु भन्छौँ । रातो मासुमा पनि छालारहित मासु खान सकियो भने त्यसलाई अस्वस्थकर मान्न मिल्दैन ।
कुन मासु राम्रो ?
माछामासुमा हामीले एउटा सेतो मासु र अर्को रातो मासु भनेर विभाजन गर्ने गर्छौं । रातो मासुमा चाहिँ मुख्य गरेर मायोग्लोबिन भन्ने प्रोटिन पाइन्छ । सेतो मासुमा कुखुराको मासु, माछाहरू पर्छ भने रातो मासुमा खसीको मासु, बंगुरको मासु, राँगाको मासु पर्छ । साधारणतया सामान्य मान्छेले खाने र बिरामी मान्छेले खाने, स्वस्थकर भनेको सेतो मासु नै हो ।
त्यसमा कुखुराको मासु र माछा अझ राम्रो मानिन्छ । दसैँ भन्नेबित्तिकै प्रायजसो खसीको मासुको पक्कु भनेर हामीले धेरै रुचाउँछौँ । खसीको पक्कु खाँदाखेरी लामो समयसम्म पकाउने, धेरै मरमसला र तेल राखेर पकाउने, लामो समयसम्म त्यसलाई फ्रिजमा राखेर अलि पछिसम्म पनि खाने गरिन्छ ।
यसरी पकाएको मासुलाई स्टोर गरेर राखिसकेपछि चिसो ठाउँमा (फ्रिज) राख्यौँ अनि फेरि तातो बनाउँदा किटाणुहरूको संक्रमण हुने जोखिम पनि हुन्छ । यदि केही गरेर हामीले त्यो पक्कुलाई चाहिँ फ्रिज टेम्प्रेचरमै राखेका छौँ र खानुपर्ने मासुलाई मात्रै थोरै मात्रामा झिकेर पुनः तताउँछौँ भने चाहिँ खासै फरक पर्दैन । त्यो मासुलाई हामीले २ देखि ३ दिनसम्म प्रयोग गर्न सक्छौँ ।
तर, लामो समयसम्म राख्नको लागि चाहिँ हामीले तापक्रममा ध्यान दिनैपर्ने हुन्छ । पहिलेपहिले हामीसँग फ्रिज हुँदैन थियो । त्यो समयमा आगोमा, घाममा सुकाएर मासुलाई लामो समयसम्म राख्ने गरिन्थ्यो । तर अहिले टेक्नोलोजीले गर्दा फ्रिजहरू प्रयोग गर्न पाइरहेका छौँ । त्यसकारण मासुलाई स्टोर गर्दा हामी फ्रिजर टेम्प्रेचर मेन्टेन्ट गर्छौं, रेफ्रिजेरेटेर टेम्प्रेचर मेन्टेन गर्छौं ।
हामीले किनेको मासु गुणस्तरीय छ भन्ने कुरामा हामी विश्वस्त हुनुपर्छ । मासुको बास्ना कस्तो छ, नराम्रो बास्ना आइरहेको छ कि छैन भनेर पनि हामीले ध्यान दिनुपर्छ । सुकुटी बनाएको मासु, घाममा सुकाएको मासु हामीले बढीमा १० देखि २० दिनसम्म मात्रै उपयोग गर्नु उचित हुन्छ । हामीले किन छालारहित मासु खानुपर्छ भने छाला सबैभन्दा बाहिरको पत्र भयो ।
पखाल्दाखेरी पनि कस्तो पानीले पखालिएको हुन्छ, सफा पानीले पखालिएको हुन्छ कि हुँदैन, थाहा हुँदैन । वधशाला कस्तो हुन्छ थाहा हुँदैन । सूक्ष्म जीवाणु त सर्वव्यापी छ । छाला भनेको चाहिँ सबैभन्दा चाँडो संक्रमित हुने हिस्सा हो । त्यसकारण हामीले छालाहरू हटाएर मासु खान सकियो भने यो स्वस्थ हुन्छ ।
हामीले मासु किन्दाखेरी पनि मायोग्लोबिन प्रोटिन अर्थात् अलि रातो खालको मासु, हेर्दैखेरी लोभलाग्दो । हेर्दैखेरी राम्रो कलर देख्यौँ भने त्यसलाई स्वस्थकर मासु भन्न सकिन्छ । अक्सिडाइज भएको मासु चाहिँ कलरै अलि फरक हुन्छ । ताजा देखिँदैन । अलि ध्यान दिने हो भने हामीले वधशालामै पनि छुट्याउन सक्छौँ, मासु ताजा र गुणस्तरीय छ कि छैन भनेर ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं