सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीकै संलग्नतामा ‘हनी ट्रयाप’

बलात्कारमा फसाइदिने भन्दै ३० लाख माग्ने इन्सपेक्टर छानबिनमा

कसरी भएको थियो ३० लाखको बार्गेनिङ ?

प्रहरीकै संलग्नतामा ‘हनी ट्रयाप’को शिलशिला चल्ने गरेको खुलासा भएको छ । हनी ट्रयापरसँग मिलेर प्रहरी अधिकृतहरूले नै बलात्कारका नाममा बार्गेनिङ गरेको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । ललितपुरको एक घटनामा प्रहरी अधिकृतको संलग्नता रहेको पाइएपछि प्रहरीले समिति नै बनाएर अनुसन्धान सुरू गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालका अनुसार ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाही नै संलग्न भएर एक युवासँग ३० लाख रूपैयाँ लिएको पाइएपछि समिति बनाएर अनुसन्धान सुरू गरिएको छ । लेनदेन संलग्न केहीलाई पक्राउ समेत गरिसकिएको प्रहरी स्रोतले बताएको छ ।

इन्सपेक्टर शाहीलाई अनुसन्धानका लागि जिम्मेबारीबाट हटाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेले जानकारी दिए । उनले बाँकी कारबाहीको विषय भने अनुसन्धानपछि मात्र थाहा हुने बताए । शाहीमाथि ललितपुर प्रहरी परिसरका डिएसपी नरहरी अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति बनाएर अनुसन्धान सुरू भएको छ ।

कसरी भएको थियो ३० लाखको बार्गेनिङ ?

भैँसेपाटी प्रहरी प्रभाग प्रहरीको मुद्दा चल्ने युनिट होइन । कुनै उजुरी परे र मुद्दा चलाउनुपर्ने अवस्था भए उक्त प्रभागले ललितपुर जिल्ला प्रहरी परिसर, जावलाखेल पठाउँछ । यतिबेला सोही प्रभागको नेतृत्व गरिरहेकी इन्स्पेक्टर बिनुकुमारी शाही एक मुद्दालाई लिएर पैसा खाएको आरोपमा विवादित बनेकी छन् ।

उनीमाथि हनी ट्रयापको विषय बलात्कारमा फसाइदिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप लागेको छ । उनले दुईजना आफन्तको नाममा पैसा जम्मा गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यही कारण उनलाई जिम्मेवारीबाट हटाएर निलम्बनका लागि सिफारिस पनि गरिएको छ ।

स्रोतका अनुसार पैसा लिइएका व्यक्तिविरुद्ध सुरूमा कुटपिटको उजुरी दर्ता भएको थियो । ‘बलात्कार भनेर तर्साउँदै पैसा उठाउने नियतले सुरुमा कुटपिटको उजुरी गर्न लगाएको देखिन्छ। पछि आफूले मिलाई दिने भनेर पैसा हाल्न लगाएको भन्ने छ। हामी हेरिरहेका छौँ,’ छानबिनमा संलग्न एक अधिकारीले भने । २०७५ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरू गरेकी शाही विवादित अफिसर हुन् ।

उनले कन्चनपुरको जिल्ला प्रहरीको मुद्दा शाखामा रहँदा सहकर्मीलाई यातना दिएको आरोप लागेको थियो । शाहीको यातनाका कारण आफूले जागिर छाड्न बाध्य भएको भन्दै उजुरी परेको थियो । अर्को घटनामा थुनुवामाथि ज्यादती गरेको आरोप पनि उनीमाथि लागेको थियो । यस्तै रिपोर्टिङमा खटिएका पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै शाही विवादमा आएकी थिइन् । शाही गत जेठमा भैँसेपाटी प्रभागमा नेतृत्व गर्न पुगेकी थिइन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १७:२२

लोकप्रिय