सूचनाको शक्ति - The Power Of Information

        

‘मोहम्मद डे’ मनाउँदै इस्लाम धर्मावलम्बी, आज सार्वजनिक बिदा

इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती अर्थात् ‘मोहम्मद डे’ मनाउँदैछन् । इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ ।

इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् । पर्वका अवसरमा मुस्लिम बस्ती निकै चहलपहल छ । मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ, रङरोगन र जताततै झिलीमिली बत्ती जडान गरिएका छन् ।

आज बस्तीबस्तीमा इस्लाम धर्मावलम्बीले सद्भाव र्यालीको आयोजना गरेका छन् । सबैप्रति उच्च सम्मान, आपसी एकता, परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश मानिन्छ । पर्वको महत्व नै एकता र आपसी सद्भाव हुने इस्लाम धर्मावलम्बीहरु बताउँछन् । पर्वमा एकाबिहानै नुहाइधुवाइ गरेर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर)को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन् ।

ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ । पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ । यो पर्वले सबैप्रति रहम (करुणा) गर्न र संसारभरिका मानव जातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पुर्याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्य पक्ष रहेको छ ।

यसैबीच सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस)को दिन नेपाली इस्लाम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज (सोमबार) सार्वजनिक बिदा दिइएको जनाएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार ०८:५८

लोकप्रिय