सूचनाको शक्ति - The Power Of Information

        

राप्ती खानेपानी आयोजना निर्माणमा ढिलाइ, आयोजना सञ्चालनमा विलम्ब

राप्ती खानेपानी आयोजनाद्वारा राप्ती नदीमा निर्माण गरिएको ‘सम्प वयल’ ।

नेपालगन्जवासीलाई सहज र सरल रूपमा खानेपानी उपलब्ध गराएर खानेपानीको समस्या समाधान गर्न सात वर्षअघि सुरु गरिएको राप्ती खानेपानी आयोजना अझै सञ्चालनमा आउन सकेको छैन । आर्थिक वर्ष २०७४–०७५ बाट सो आयोजना निर्माणको काम अगाडि बढाइए पनि अझैसम्म नेपालगन्जवासीले सो आयोजनाको पानी उपभोग गर्न पाएका छैनन् ।

अहिलेसम्म पहिलो चरणको काम सकेर दोस्रो चरणको काम सुरु गर्न लागिएको खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजनाको निर्माण कार्य सुरु गरेको थियो ।

३३ करोड रुपियाँको लागतमा सम्पन्न हुने भनिएको सो आयोजना अन्तर्गत राप्ती नदीदेखि नेपालगन्जसम्म ‘डिआइ’ पाइप बिछ्याइएको जनाउँदै कार्यालय प्रमुख श्रेष्ठले अहिले राप्ती नदी किनारको जग्गा विवादका कारण काम अगाडि बढ्न नसकेको जानकारी दिए । पानीको मुहान क्षेत्रमा व्यक्तिको जग्गा परेपछि जग्गा धनीले अदालतमा मुद्दा हालेको र करिब १५ कठ्ठा जति जमिन किन्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।

खानेपानी आयोजनाको काम अहिलेसम्म करिब ८५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको संस्थानले जनाएको छ । पाइपलाइनका लागि कम्दीस्थित डुडुवा खोलामा ‘ट्रष्ट ब्रिज’ निर्माण गरिएको छ । हरेक वर्ष चैत, वैशाख र जेठमा नेपालगन्जका अधिकांश ठाउँमा पानीको सतह घट्ने गरेको छ । उपमहानगरका अधिकांश स्थानमा सर्वसाधारणले गाडेका हेण्डपम्प सुक्ने समस्या देखिएको संस्थानका सूचना अधिकारी बुद्धिप्रकाश केसीले बताए ।

उनका अनुसार यो आयोजना सम्पन्न भएपछि नेपालगन्जवासी खानेपानी समस्याबाट मुक्त हुनेछन् । उक्त आयोजनाअन्तर्गत राप्ती नदीमा ‘सम्प वयल’ बनाइएको छ । सम्प वयलमा हाल दुई थान पम्प जडान गरिएको छ । हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग नेपालगन्ज क्षेत्रमा अहिले करिब पाँच हजार उपभोक्ता आबद्ध छन् । राप्ती नदीबाट पानी आएपछि नेपालगन्ज क्षेत्रमा खानेपानी पर्याप्त हुने सूचना अधिकारी केसीको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले राप्ती खानेपानी आयोजना सम्पन्न भएपछि मात्र नेपालगन्जको खानेपानी समस्या समाधान हुने भएकोले सो आयोजना पुरा गर्न आफूले हर सहयोग गर्दै आइरहेको बताए । राप्ती खानेपानी आयोजना नेपालगन्जवासीका लागि धेरै महत्त्वपूर्ण रहेकाले छिटोभन्दा छिटो सो आयोजना पुरा गरेर घरघरमा राप्ती नदीको प्रशोधन गरिएको पानी पुर्याउने लक्ष्यका साथ तीव्र रूपमा काम भइरहेको मेयर विष्टले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १०:२३

लोकप्रिय