भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटक अब मायादेवी मन्दिर र पवित्र उद्यानमा मात्रै सीमित हुनुपर्ने छैन । लुम्बिनीको पर्खालबाहिर रहेका गाउँ, पुराना बस्ती, मठमन्दिर, पोखरी, खेतबारी, स्थानीय संस्कृति र जनजीवनको अनुभव पनि साइकल चढेरै लिन सकिने भएको छ । लुम्बिनीको पर्यटनलाई नयाँ ढंगले विस्तार गर्ने उद्देश्यसहित दिगो पर्यटन परियोजनाअन्तर्गत आज (मंगलबार)देखि लुम्बिनी साइकल यात्रा सुरु गरिएको छ ।
साइकलमार्फत पर्यटकलाई लुम्बिनी आसपासका ग्रामीण बस्ती र सम्पदासँग जोड्ने लक्ष्यसहित तीनवटा फरक दूरीका साइकल मार्ग सञ्चालनमा ल्याइएको हो । लुम्बिनी होटल संघ र पर्यटन क्षेत्रका सरोकारवालाको पहलमा अघि बढाइएको यो अभियानले लुम्बिनीको पर्यटनलाई धार्मिक दर्शनमा मात्र सीमित नराखी प्रकृति, संस्कृति, स्थानीय जीवनशैली र समुदायको आर्थिक गतिविधिसँग जोड्ने अपेक्षा गरिएको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक खड्ग विक्रम शाहले पर्यटनको विकास गर्दा वातावरण संरक्षण, स्थानीय जीविकोपार्जन र समुदायको प्रत्यक्ष लाभलाई प्राथमिकता दिनुपर्ने बताए । लुम्बिनी र ग्रेटर लुम्बिनी क्षेत्रलाई साइकलका माध्यमबाट जोड्दै ग्रामीण समुदाय, सम्पदा र स्थानीय जनजीवनलाई पर्यटकसमक्ष पुर्याउने प्रयास महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
यस अभियानलाई दीर्घकालीन बनाउन लुम्बिनी विकास कोष, स्थानीय पालिका, होटल व्यवसायी, पर्यटन नेटवर्क र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको शाहले बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष आनी छोइङ डोल्माले लुम्बिनीको तीर्थाटनलाई साइकल र शान्त वातावरणसँग जोड्नुपर्नेमा जोड दिइन ।
उनले भविष्यमा लुम्बिनी दर्शन गर्न आउने भक्तजनले समेत साइकल प्रयोग गरेर तीर्थस्थलको भ्रमण गर्न सके वातावरण थप स्वच्छ र शान्त बन्ने बताइन् । गाडीको अत्यधिक प्रयोग, होहल्ला र भिडभाडले लुम्बिनीको शान्त वातावरण प्रभावित हुन सक्ने उल्लेख गर्दै उनले तीर्थयात्रालाई सहज, शान्त र आध्यात्मिक अनुभूतिसँग जोड्नुपर्ने धारणा राखिन् ।
साइकल स्वास्थ्यका लागि पनि लाभदायक रहेको भन्दै उनले यात्रामा सहभागी सबैलाई सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरिन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण, सरसफाइ र पर्यटन प्रवद्र्धनका लागि अभियानले सकारात्मक भूमिका खेल्ने बताइन् ।
यसलाई सफल बनाउन स्थानीय सरकार, लुम्बिनी विकास कोष, होटल व्यवसायी र पर्यटन क्षेत्रका सबै पक्षबीच सहकार्य हुनुपर्ने उनको भनाइ थियो । लुम्बिनी होटल संघका अध्यक्ष लिलामणि शर्माले लुम्बिनीको वास्तविक पहिचान पर्खालभित्र मात्रै सीमित नरहेको बताए ।
लुम्बिनीको पर्खाल बाहिर पनि संस्कृति, सम्पदा, परम्परा, खाना र मौलिक जनजीवन रहेको भन्दै उनले ती पक्षलाई विश्व पर्यटन बजारसम्म पुर्याउनु आवश्यक रहेको उल्लेख गरे । पर्यटक गाउँसम्म पुग्न थालेपछि स्थानीय उत्पादनको बिक्री बढ्ने, हस्तकलाले बजार पाउने, गाउँघरमा चिया, कफी तथा स्थानीय परिकारको व्यवसाय विस्तार हुने र स्थानीय बासिन्दाले आतिथ्य सेवाबाट आम्दानी गर्न सक्ने उनको विश्वास छ ।
तीन रुट, तीन फरक अनुभव
लुम्बिनीको वडा नम्बर १० बाट विकास गरिएका तीनवटा साइकल मार्गले पर्यटकलाई फरक–फरक अनुभव दिनेछन् । पहिलो मैत्रीमार्ग आठ किलोमिटर लामो छ । दुईदेखि तीन घण्टामा पूरा गर्न सकिने यो मार्गमा मन्दिर, पोखरी, खेतीयोग्य जमिन र ग्रामीण बस्तीको अवलोकन गर्न सकिन्छ । स्थानीय हस्तकला केन्द्रसम्म पुग्ने यो मार्ग साइकल यात्रा सुरु गर्ने नयाँ पर्यटकका लागि सहज मानिएको छ ।
दोस्रो, प्रज्ञा मार्ग १६ किलोमिटर लामो छ । चारदेखि पाँच घण्टा लाग्ने यो यात्रामा खेतबारी, नदी किनारका गाउँ, चराचुरुङ्गी तथा वन्यजन्तुको अवलोकन गर्न सकिन्छ । यस मार्गमा कुम्हार बस्ती, स्थानीय बजार र झोलुङ्गे पुलसमेत समेटिएका छन् । तेस्रो, करुणा मार्ग २४ किलोमिटर लामो छ । सातदेखि आठ घण्टासम्म लाग्ने यो मार्गले पर्यटकलाई लुम्बिनीको अझ भित्री ग्रामीण परिवेशसम्म पुर्याउँछ ।
नदी पारका बस्ती, पुराना गाउँ, आश्रम, खेतीपाती र ऐतिहासिक स्थलहरू यस यात्राका आकर्षण हुन् । यी तीनवटै मार्गले लुम्बिनी आउने पर्यटकलाई नयाँ अनुभव दिनुका साथै स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने विश्वास गरिएको छ । लुम्बिनीलाई विश्वले बुद्धको जन्मस्थलका रूपमा चिन्छ । तर यसको आसपासको ग्रामीण जीवन, मौलिक संस्कृति, परम्परा र सम्पदा पनि उत्तिकै महत्वपूर्ण छन् ।
साइकल यात्राको यो सुरुवातले ती सम्पदालाई चिनाउने र पर्यटनको लाभ गाउँसम्म पुर्याउने अवसर सिर्जना गर्न सक्छ । लुम्बिनी घुम्न आउने पर्यटक केही घण्टा वा एक दिन थप गाउँमा बिताउन थाले भने त्यसको प्रत्यक्ष लाभ स्थानीय होटल, होमस्टे, हस्तकला व्यवसायी, किसान र साना उद्यमीले पाउनेछन् । त्यसैले यो अभियान साइकल चलाउने कार्यक्रम मात्रै नभई लुम्बिनीको पर्यटनलाई समुदायसँग जोड्ने र स्थानीय अर्थतन्त्र चलायमान बनाउने नयाँ प्रयासका रूपमा हेरिएको छ ।
