तेस्रो मुलुकसँगको आयात–निर्यात व्यापारका लागि भारतले नेपाललाई उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाह प्रयोग गर्न दिने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा सम्पन्न दुई देशबीचको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन् ।
नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्न माग गर्दै आएको थियो । सन् २०१९ मै ती दुई बन्दरगाह प्रयोगबारे सैद्धान्तिक सहमति भए पनि यसपटक उही राज्यका सरकारी स्वामित्वमा रहेका फरक बन्दरगाह प्रयोगको अनुमति दिने सहमति भएको हो । निजी क्षेत्रको अडानी समूहले व्यवस्थापन गर्दै आएका धाम्रा र मुन्द्राको सट्टा भारत सरकारद्वारा सञ्चालित बन्दरगाहमा नेपाललाई पहुँच दिइएको हो ।
नेपालले हाल पश्चिम बंगालको कोलकाता, हल्दिया र आन्ध्र प्रदेशको विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै तेस्रो मुलुकसँग व्यापार गरिरहेको छ । एउटै रुटमा पर्ने कोलकातामा साना जहाज र हल्दियामा ठूला जहाज आउने भएकाले नेपालले यी दुईलाई एउटै बन्दरगाहका रूपमा प्रयोग गर्दै आएको छ । लामो समयदेखि वैकल्पिक बन्दरगाहको माग गर्दै आएको नेपालका लागि पारादीप र कान्डला बन्दरगाहको पहुँचले तेस्रो मुलुकसँगको पारवहन र व्यापारमा थप सहजता मिल्ने अपेक्षा गरिएको छ ।
