२०८३ मंसिर ८ , मंगलबार 24, November 2026, Tuesday

आठ वर्षपछि बसपार्क सञ्चालनमा

जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित छिनामा बसपार्क सञ्चालनमा आएपछि सवारीसाधनको आवागमन सहज भएको छ । निर्माण सम्पन्न भएको आठ वर्षसम्म प्रयोगविहीन रहेको बसपार्कको जग्गा विवाद समाधान भएपछि सञ्चालनमा आएको हो ।

नगरप्रमुख राजुसिंह कठायतका अनुसार बसपार्क सञ्चालनमा आएपछि सदरमुकाम खलङ्गाका सडकमा सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता हटेको छ । बसपार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी तिला कर्णाली यातायात सेवा प्रालिले लिएको छ ।

विसं २०७६ मा करिब रु एक करोड ६० लाखमा ठेक्का लागेको बसपार्कका सबै संरचना निर्माण भए पनि विवादका कारण सञ्चालनमा आउन सकेको थिएन । यसअघि सडकमा सवारीसाधन पार्किङ गर्दा बजार क्षेत्रको यातायात व्यवस्थापनमा समस्या हुने गरेको थियो । बसपार्क सञ्चालनमा आएपछि उक्त समस्या कम भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ मंसिर ८ गते मंगलबार