२०८३ मंसिर ८ , मंगलबार 24, November 2026, Tuesday

मेलामा झडप हुँदा केही घाइते, प्रहरीद्वारा हवाई फायर

बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा दुई पक्षबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको छ । झडपमा परेर केही घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले दुई पक्षबीच भएको विवाद नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरिएको जानकारी दिए ।

बैजनाथ गाउँपालिकाको चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएको थियो । उनीहरूलाई छुट्याउन गएको प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले बैजनाथका मनोज सुनारलाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए ।

सो घटनामा परेर घाइते भएकाहरूको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २०८३ मंसिर ८ गते मंगलबार