२०८३ मंसिर ८ , मंगलबार 24, November 2026, Tuesday

डा.उपाध्याय ‘अमेरिका बुक अफ रेकर्डस्’को ‘हल अफ फेम’मा

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय ‘अमेरिका बुक अफ रेकर्डस्’को ’हल अफ फेम’मा समावेश भएका छन् । ‘अमेरिका बुक अफ रेकड्र्स’ले उनलाई गीत–संगीत तथा साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘हल अफ फेम’मा समावेश गरेको हो ।

कुनै क्षेत्रमा असाधारण योगदान र सफलता हासिल गरेका व्यक्तिहरूलाई विशेष रूपमा सम्मान गरेर राखिने सूचीलाई ‘हल अफ फेम’ भनिन्छ । अमेरिका बुक अफ रेकर्डस्’ले जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिमा डा.उपाध्यायलाई उक्त उपाधि प्रदान गरिएको जनाइएको छ ।

प्रमाणपत्रमा गीत लेखन क्षेत्रमा उनको उल्लेखनीय उपलब्धि, समर्पण तथा विशिष्ट योगदानको कदरस्वरूप ‘हल अफ फेम’मा समावेश गरिएको उल्लेख गरिएको छ । अमेरिका बुक अफ रेकड्र्सका अनुसार संस्थाले विभिन्न क्षेत्रमा विशिष्ट उपलब्धि हासिल गरेका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ ।

यसैक्रममा छनोट भएका व्यक्तिहरूमध्ये डा.उपाध्यायलाई पनि प्रतिष्ठित ‘हल अफ फेम अवार्ड’ प्रदान गरिएको हो । अवार्डसँगै संस्थाले डा.उपाध्यायलाई आधिकारिक प्रमाणपत्रसमेत प्रदान गरेको छ । प्रमाणपत्रमा अवार्ड सम्बन्धी दाबी कोड उल्लेख छ । संस्थाका तर्फबाट डेनिस लोपेजले प्रमाणपत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाली गीतसंगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय डा.उपाध्यायका लागि यो अन्तर्राष्ट्रिय सम्मान थप उपलब्धिका रूपमा रहेको छ । यसले नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनसमेत योगदान पुग्ने अपेक्षा गरिएको छ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.उपाध्यायले गीत–संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् ।

यस्तै, उहाँका १७ भन्दा बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । २५० को हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । उनको पछिल्लो उपन्यास ‘आशक्ति’ र कविता संग्रह ‘अन्तसंस्करण’ रहेको छ । समाजशास्त्रमा सन् २०००मा विद्यावारिधि गरेका उपाध्यायलाई विश्वका विभिन्न १० विश्वविद्यालयले मानार्थ डाक्टरको उपाधि पनि दिएका छन् ।

प्रकाशित मिति : २०८३ मंसिर ८ गते मंगलबार