भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताएका छन् । प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आयोजित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले छोटो समयको कुराकानीबाटै शाहको दृष्टिकोण र प्रतिबद्धता महसूस गरेको बताए ।
‘केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उहाँले विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो । आजको कुराकानीमा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसूस गरेको छु,’ प्रधानमन्त्री मोदीले भने ।
उनले नेपाली जनताले यस वर्ष प्रधानमन्त्री शाहलाई दिएको ऐतिहासिक जनादेश नयाँ पुस्ताका आकांक्षा र आशाको प्रतिबिम्ब भएको उल्लेख गर्दै सशक्त र समृद्ध नेपालको विकास यात्रामा भारत सधैँ साझेदार रहने बताए । भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्र नभई अद्वितीय विश्वासमा आधारित रहेको उल्लेख गर्दै उनले दुवै देशका खुसी र चुनौती साझा रहेको बताए ।
एकअर्काको प्रगतिका साझेदार तथा कठिन समयमा सहयोगी रहेको उल्लेख गर्दै उनले हालै नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरे । नेपालमा पुनर्निर्माण र दीर्घकालीन विकासलाई सुदृढ बनाउन भारतले दुई खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको भारतीय प्रधानमन्त्री मोदीले जानकारी दिए ।
