२०८३ मंसिर ७ , सोमबार 23, November 2026, Monday

आज मोदीसँग भेट्दै प्रधानमन्त्री बालेन, ऊर्जादेखि हवाई मार्गसम्मका एजेन्डा

दुईदिने राजकीय भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक भारत भ्रमणमा गएका शाह र मोदीबीच हुने वार्तालाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले आज मोदीसँग एक्लाएक्लै तथा प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा व्यापार, पारवहन, ऊर्जा सहकार्य, हवाई सम्पर्क विस्तार, पूर्वाधार विकास र लगानी प्रवद्र्धनलगायतका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ ।

हवाई प्रवेश मार्ग र ऊर्जा व्यापारमा चासो

नेपालका लागि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनसँग जोडिएको थप हवाई प्रवेश मार्गको विषय महत्त्वपूर्ण छ । भारतसँगको वार्तामा पश्चिमतर्फबाट नयाँ हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषय उठ्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, नेपालबाट भारतमा विद्युत् निर्यात विस्तार गर्ने, भारतीय प्रसारण सञ्जाल प्रयोग गरी बंगलादेशसम्म विद्युत् व्यापार बढाउने र सीमापार ऊर्जा पूर्वाधार सुदृढ गर्ने विषय पनि द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्र हुन् ।

पुनर्निर्माण र आर्थिक सहकार्य

बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य पूर्वाधारको पुनर्निर्माणमा भारतीय सहयोग जुटाउने विषय पनि भ्रमणको सम्भावित एजेन्डाका रूपमा चर्चामा छ । पुनर्निर्माणका लागि करिब दुई अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान प्रस्ताव गरिने चर्चा भए पनि त्यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरण, सीमा नाकाको स्तरोन्नति, पारवहन सुविधा विस्तार तथा भारतीय लगानी आकर्षित गर्ने विषयमा समेत छलफल हुने अपेक्षा छ । भ्रमणको तयारीबारे प्रकाशित विवरणअनुसार नेपालले करिब दुई अर्ब डलरको आर्थिक सहयोग प्याकेज, थप हवाई प्रवेश मार्ग तथा सीमापार पूर्वाधार विकासमा प्रगति खोजेको छ । यद्यपि, यी प्रस्तावमा कस्तो सहमति जुट्छ भन्ने आजको वार्तापछि मात्रै स्पष्ट हुनेछ ।

परामर्शबिनाको भ्रमण, नतिजामाथि चासो

प्रधानमन्त्री शाहले भ्रमणअघि पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका शीर्ष नेताहरूसँग औपचारिक परामर्श नगरेको विषयले राजनीतिक बहस निम्त्याएको छ । विदेश नीतिजस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति आवश्यक हुने तर्क उठिरहेका बेला सरकारले भने आर्थिक तथा विकास साझेदारीलाई प्राथमिकतामा राखेको छ ।

आजको वार्तापछि विभिन्न समझदारीपत्र आदानप्रदान र संयुक्त परियोजनासम्बन्धी घोषणा हुने अपेक्षा छ । भारतीय प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रमसमेत छ । प्रधानमन्त्री शाहको छोटो भारत भ्रमणबाट हवाई मार्ग, ऊर्जा व्यापार र पुनर्निर्माण सहयोगमा कस्तो ठोस उपलब्धि हासिल हुन्छ भन्नेमा चासो केन्द्रित भएको छ ।

प्रकाशित मिति : २०८३ मंसिर ७ गते सोमबार