विदेश जाने योजना असफल भएपछि स्वदेशमै सुरु गरेको बाख्रापालन व्यवसायबाट अहिले मनग्य आम्दानी गर्दै छन्, बाँके राप्तीसोनारी गाउँपालिका–६ का डम्बर बुढाक्षेत्री । बाख्रापालनबाट भइरहेको आम्दानी देखेर अहिले उनले विदेशभन्दा स्वदेशमै राम्रो गर्न सकिने रहेछ भन्ने सन्देश दिएका छन् ।
वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा रहेका बुढाक्षेत्री स्वास्थ्य परीक्षणमा असफल भएपछि विदेश जान पाउनुभएन । विदेश जाने योजना सफल नभएपछि स्वदेशमै उनले बाख्रापालन व्यवसाय गर्ने योजना बनाएर सोही कार्यमा लागे । सोही व्यावसाय फस्टाउँदै जाँदा अहिले आत्मनिर्भरताको आधार बनेको उनी बताउँछन् ।
उनले अहिले ६० वटाभन्दा बढी स्थानीय खरी जातका बाख्रा पालेका छन् । बाख्रापालनबाट दुई वर्षमा करिब तीन लाख रुपैयाँ आम्दानी गरेको जनाउँदै उनले पुरानो ऋण चुक्ता गर्नुका साथै दुई छोराको पढाइ खर्च र घरपरिवारको दैनिक आवश्यकता पूरा गर्दै आएको बताए । सुरुमा थोरै सङ्ख्यामा बाख्रा पाल्न थालेका बुढाक्षेत्रीले क्रमश: व्यवसाय विस्तार गर्दै गएका हुन् ।
वर्षमा आठदेखि १० वटासम्म खसी बिक्री गर्दै आएका उनले यस वर्ष पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेको बताए । बाख्रा बिक्रीका लागि बजारको समस्या नरहेको जनाउँदै बुढाक्षेत्रीले सहकारीले खसी खरिद गर्नुका साथै आवश्यक पर्दा अग्रिम रकमसमेत उपलब्ध गराउने भएकाले व्यवसाय सञ्चालन गर्न सहज भएको बताए ।
माउ बाख्रा बिक्री नगरी सङ्ख्या बढाउने उनको योजना छ । पशुपालनमा सक्रिय रहेका उनले सुरुमा आठ वटा भैँसीसमेत पालेका थिए । भैँसी बिक्री गरेर बाख्रापालनलाई प्राथमिकता दिएको जनाउँदै अहिले यही व्यवसायबाट ऋण चुक्ता गर्न सफल भएका छन् । ‘म यसैमा सन्तुष्ट छु । विदेश गएको भए राम्रो हुन्थ्यो भन्ने लागेको छैन,’ उनले भने ।
उनका लागि बाख्रापालन आम्दानीको स्रोत मात्र बनेको छैन, पारिवारिक जिम्मेवारी पूरा गर्ने र स्वदेशमै बसेर आत्मनिर्भर बन्ने आधारसमेत बनेको छ । वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै क्षमता, सिप र अवस्थाअनुसार स्वदेशमै व्यवसाय गर्न सकिने उनको अनुभव छ । बाख्रापालन गर्न चाहनेलाई आफ्नो आर्थिक क्षमता र अवस्थाअनुसार सानो लगानीबाट व्यवसाय सुरु गर्न सुझाव दिँदै उनले अरूको देखासिकी गरेर एकैपटक ठुलो लगानी गर्न नहुने बताए ।
स्थानीय खरी जातका बाख्राको सङ्ख्या बढाउँदै व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य राखेका बुढाक्षेत्री अहिले आफ्नै गाउँमा बसेर परिवारको खर्च धान्न सफल भएका छन् । वैदेशिक रोजगारीको विकल्प खोज्दै सुरु गरेको उनको बाख्रापालन व्यवसाय स्वदेशमै श्रम र लगानी गरेर आत्मनिर्भर बन्न सकिने गरि अन्य युवाका लागि उदाहरण बनेका छन् ।
