२०८३ मंसिर ७ , सोमबार 23, November 2026, Monday

बालेन-मोदी भेटवार्ता : आठ विषयमा सहकार्य गर्ने सहमति

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तापछि दुवै देशबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।

सुरुमा दुवै देशका प्रधानमन्त्रीबीच एकल (वान-टु-वान) भेटवार्ता भएको थियो । त्यसपछि दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको सामूहिक द्विपक्षीय वार्ता सम्पन्न भएको हो । वार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका समग्र पक्षका साथै व्यापार, ऊर्जा, कनेक्टिभिटी, पूर्वाधार विकास, लगानी तथा आपसी हितका विविध विषयमा गहन छलफलपछि सहमित भएको हो ।

यी हुन् समझदारी भएका विषय

फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ ।

प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ ।

प्रशासनिक अधिकारीको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन् ।

आयुर्वेद र परम्परागत चिकित्सा : दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन् ।

स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ ।

सहरी विकास : दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन् ।

स्वास्थ्य र चिकित्सा : भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन् ।

पशुपालन र मत्स्यपालन : दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन् ।

प्रकाशित मिति : २०८३ मंसिर ७ गते सोमबार