दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन् । बिहान सखारैदेखि साँझ अबेरसम्म उनीहरु माटो र चक्रमै व्यस्त भेटिन्छन् । कसैका हात माटो मुछ्नमा जुटेका छन् भने कसैले चक्र घुमाउँदै माटाका डल्लालाई आकार दिइरहेका छन् ।
चाडपर्वको रौनकसँगै सो बस्तीका कुम्हाल समुदायका घरआँगनमा माटाका सामग्री बनाएको हेर्नेहरु पनि भेटिन थालेका छन् । वर्षभरि सुस्त रहने माटाका सामग्रीको कारोबार दीपावली र छठको समयमा केही बढ्ने आशाले अहिले उनीहरु उत्पादनमा केन्द्रित छन् । ‘कारोवार वर्षभरि सुस्त रहन्छ, चाडपर्वको समयमा मात्र बिक्री हुन्छ,’ खजुरीका पृतम पण्डितले भनिन्, ‘त्यसैले अहिले पाला बनाउन हामी व्यस्त छौं ।’
उनीहरूका लागि यो समय केवल चाडपर्वको तयारी मात्र होइन, वर्षभरि थन्किएको पेसाबाट केही आम्दानी गर्ने अवसर पनि हो । ‘यो हाम्रो पसिना र मेहनतसँग परिवारको जीविका तथा पुख्र्यौली पेसाको निरन्तरता पनि जोडिएको हो,’ स्थानीय सुन्दर पण्डित भन्छन्, ‘हाम्रो लागि माटो केवल कच्चा पदार्थ होइन, पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सीप, संस्कृति र पहिचानको आधार हो ।’
दशैं सकिएलगत्तै माटोका भाँडा बनाउने काममा लागेको अर्का स्थानीय अयोधि पण्डितले बताए । उनले भने, ‘अहिले माटोको भाँडा बेचेर राम्रै आम्दानी हुने भएकाले अरू काम थाती राखेर यसमा लागेका हौं ।’ दसैँदेखि छठसम्ममा माटोको भाँडा बेचेर खबै खर्च कटाउँदा रु एक लाखसम्म आम्दानी हुने उनले बताए । चाडपर्वमा माटाका सामग्रीको माग बढे पनि वर्षभरि यसै पेसाबाट परिवारको खर्च धान्न सहज नभएको कुमाल समुदायका अगुवा रामनारायण पण्डितले बताए ।
प्लास्टिक, स्टिल, आल्मुनियम र अन्य आधुनिक सामग्रीले बजारमा स्थान विस्तार गर्दै जाँदा परम्परागत माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएको छ । यसले गर्दा माटोसँग जीवन बिताएका कुमाल समुदायलाई आफ्नो पेसा जोगाउने र नयाँ पुस्तालाई यसप्रति आकर्षित गर्ने चुनौती थपिएको उनको कथन छ । रामनारायणका अनुसार कुनै समय घरघरमा माटाका भाँडाकुँडा प्रयोग गर्ने चलन थियो, पानी राख्न घैँटो, खाना पकाउन हाँडी, पूजा गर्न कलश र दीपावलीमा घरआँगन उज्यालो बनाउन दियो अनिवार्यजस्तै मानिन्थ्यो ।
उनले भने, ‘तर, अहिले ती स्थान क्रमश: आधुनिक सामग्रीले लिन थालेका छन् । चाडपर्वमा पनि माटाका सामग्रीको प्रयोग सीमित हुँदै जानुले परम्परागत पेसामा निर्भर परिवारको आम्दानी प्रभावित हुन थालेको छ ।’ बजारमा प्लास्टिकका सामग्रीको चमक बढ्दै गर्दा माटोसँग जोडिएको परम्परागत पेसाको उज्यालो निभ्न नदिन राज्य, स्थानीय सरकार र उपभोक्ता सबैको साथ आवश्यक देखिएको कुमाल समुदायको भनाइ छ ।
