तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र दुई वटा रिले इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा धेरै स्वर्ण जितेर अग्रता लिएको छ ।
नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबको आयोजना गरेको प्रतियोगिताको पहिलो दिन ४० वटा इभेन्ट सम्पन्न हुँदा सगरमाथा क्लले २४ वटा स्वर्ण मेडल जितेर अग्रता लिएको प्रतियोगिताका प्रमुख रेफ्री विष्णु खड्का क्षेत्रीले जानकारी दिए ।
प्रतियोगितामा नयाँ दिल्ली भारतको इलाइट स्वीमिङ एकेडेमीले १० स्वर्ण जितेर दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा ललितपुरको रातो बंगला र मपिल क्यानेडिन स्कुल काठमाडौं दुई–दुई स्वर्ण जितेर तेस्रो स्थानमा र लखनउ भारतको गल्स कलेज र शिखा एकेडेमी चौथो स्थानमा रहेको खड्काले बताए ।

अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात १७ वर्षभन्दा बढी उमेरका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । खेलाडीहरूका बिचमा फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र व्यक्तिगत गरी ६ छुट्टा छुट्टै विधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । आइतबार थप ४० इभेन्ट रहेका छन् ।
प्रतियोगितामा नेपालसँगै भारतको दिल्ली र लखनउबाट १५० जना खेलाडीहरू सहभागी भएका छन् । स्वीमिङलाई प्रवर्धन गर्ने उद्देश्यले नेपालगन्जका स्वीमिङ खेलप्रेमी उद्योगी, व्यवसायी, डाक्टर, इन्जिनियर, कानुन व्यवसायी, चार्टर एकाउन्टेड, सञ्चारकर्मी लगायत नागरिक समाजका अगुवाहरूको पहलमा गठन गरिएको लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब रहेको जनाइएको छ ।
