२०८३ कात्तिक १६ , आइतबार 1, November 2026, Sunday

बाँकेको अम्बे स्टिलमा विद्युत् भट्टी विस्फोट हुँदा आठ जना घाइते

बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल उद्योगमा विद्युत् भट्टी विस्फोट हुँदा आठ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भारतको लखनउ लगिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार बिहान पौने ६ बजेतिर उद्योगमा भट्टी विस्फोट भई आगलागी भएको थियो ।

यसअघि पनि केही दिनअघि सोही उद्योगको केमिकल ट्याङ्कीमा आगलागी भएको थियो । उद्योगभित्र फलाम पगाल्न प्रयोग गरिने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार उद्योगमा रहेका भट्टीमा आगलागी भई विस्फोट भएको हो । ती भट्टीको क्षमता प्रतिवटा २५ टन रहेको छ ।

आगलागीमा परी घाइते हुनेमा बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना रहेका छन् । प्रहरीका अनुसार घाइते हुनेमा बाँकेको जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव छन् । त्यसैगरी, भारतको बहराइच जिल्लाका राजकुमार निषाद, नशिव कुमार निषाद र विनोद कुमार निषाद पनि घाइते भएका छन् ।

गम्भीर घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ लगिएको छ । अन्य घाइतेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान साढे ८ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । आगलागीबाट भएको अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार