बाँकेको खजुरा गाउँपालिकाले खेतमा धानको पराल, ठुटा तथा अन्य कृषिजन्य अवशेष जलाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । धान पाकेपछि काटेर भित्र्याउने क्रम तीव्र भइरहेको बेला गाउँपालिकाले वातावरण, मानव स्वास्थ्य र माटोको उर्वराशक्तिमा प्रतिकूल असर पर्ने भन्दै खेतमा धानको पराल र ठुटा जलाउन प्रतिबन्ध लगाएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले धान काटेपछि खेतमा बाँकी रहने पराल, ठुटा तथा अन्य कृषिजन्य अवशेष जलाउने प्रवृत्ति बढ्दै गएको हुँदा त्यस्तो नगर्न सबै किसानसँग अनुरोध गर्दै बाली अवशेषको उचित व्यवस्थापन गरी वातावरण संरक्षणमा सहयोग गर्न आग्रह गरिएको बताए ।
उनका अनुसार धान कटाइका लागि कम्बाइन हार्भेस्टरजस्ता आधुनिक कृषि उपकरणको प्रयोग बढेसँगै खेतमा बाँकी रहने पराल, ठुटा तथा अन्य कृषिजन्य अवशेष जलाउने प्रवृत्ति बढ्दै गएको हुँदा यसले वायु प्रदूषण बढाउनुका साथै माटोको उर्वराशक्ति नष्ट गर्ने, आगलागीको जोखिम बढाउने र पशु आहाराको संकट निम्त्याउने भएकाले यस्तो कार्य निषेध गरिएको हो ।
गाउँपालिकाले एक सार्वजनिक सूचना नै प्रकाशित गरेर फोहोरमैला व्यवस्थापन ऐन, २०६७, वातावरण संरक्षण ऐन, २०७६ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कानुनी व्यवस्थालाई आधार बनाउँदै पालिकाभित्र खेतमा आगो लगाउन पूर्ण प्रतिबन्ध लगाइएको जनाएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक ‘तुफान’ले पनि किसानलाई धानको पराल तथा अन्य बाली अवशेष नजलाउन आग्रह गरे ।
उनले त्यसलाई कम्पोस्ट मल बनाउन, पशु आहाराका रूपमा भण्डारण गर्न वा नजिकैका गौशालामा उपलब्ध गराएर वैकल्पिक उपयोग गर्न अपिल गरिएको बताए । गाउँपालिकाले जारी गरेको सूचनामा प्रतिबन्धको बेवास्ता गरी बाली अवशेष जलाएको पाइएमा वा त्यस्तो कार्यबाट दुर्घटना तथा क्षति भएमा सम्बन्धित किसान स्वयं जवाफदेही हुनुपर्ने उल्लेख छ ।
साथै, दोषीमाथि प्रचलित कानुन बमोजिम कारबाही तथा जरिवाना गरिने चेतावनीसमेत दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलद्वारा जारी सूचनामार्फत सम्बन्धित सबै किसानलाई बाली अवशेषको उचित व्यवस्थापन गरी वातावरण संरक्षणमा सहयोग गर्न आग्रह गरिएको छ ।
