२०८३ कात्तिक १६ , आइतबार 1, November 2026, Sunday

तीन महिनामा १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात

नेपालबाट चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा १२ करोड ९२ लाख रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि असोजसम्मको अवधिमा नेपालबाट १२ करोड ९२ लाख १ हजार रुपैयाँ बराबरको २०७ किलो यार्सागुम्बा विदेश निर्यात भएको हो ।

नेपालबाट निर्यात भएको यार्सागुम्बा कम्बोडिया, चीन, हङकङ, मलेसिया, मेक्सिको, नेदरल्यान्ड्स, पोल्यान्ड, सिंगापुर, स्विट्जरल्यान्ड, ताइवान, संयुक्त अधिराज्य र भियतनामलगायतका देश तथा क्षेत्रमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालले तीन करोड ७० लाख ४० हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात गरेको थियो ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने यार्सागुम्बा नेपालका बहुमूल्य जडीबुटीमध्ये एक हो । अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा कारोबार हुने यार्सागुम्बाको निर्यातले मुलुकको वैदेशिक व्यापार र विदेशी मुद्रा आर्जनमा योगदान पुर्याउँदै आएको छ । तीन महिनाको अवधिमै २०७ किलो यार्सागुम्बा निर्यात हुनुले यसको अन्तर्राष्ट्रिय बजारमा रहेको मागलाई समेत संकेत गरेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार