२०८३ कात्तिक ११ , मंगलबार 27, October 2026, Tuesday

धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल

कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट अपेक्षित फल प्राप्त हुन्छ । नामसँगै दाम पनि प्राप्त हुन्छ । यस्तै भएको छ म्याग्दीको मङ्गला गाउँपालिका–३ बरञ्जाका कृष्णलाल सापकोटालाई । जिल्लामा उनले नमुना किसानको पहिचान बनाएका छन् । बरञ्जाको महेन्द्ररत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सापकोटाले धानखेती हुने खेतमा कागतीखेती विस्तार गरेका छन् ।

सापकोटा सञ्चालक रहेको सापकोटा सुन्तला फार्ममार्फत १२ रोपनी खेतमा ६०० कागतीका बिरुवा हुर्काइएका छन् । चार वर्षअघि रोपिएका बिरुवाले फल दिन थालेका छन् । फार्ममा ३०० बिजु र ३०० कलमी बिरुवा रोपिएका छन् । कलमी बिरुवाले गत वर्षदेखि उत्पादन दिन थालेका थिए । गत वर्ष ५० किलोग्राम कागती बिक्री भएको फार्ममा यस वर्ष उत्पादन बढ्ने सापकोटाको अपेक्षा छ ।

कागतीखेतीको व्यवस्थापन सापकोटाले गर्दै आएका छन् । वैदेशिक रोजगारीमा रहेका जग्गाधनी डिलाराम कँडेल र पूर्वजग्गा धनी प्रकाश तुलाचन पनि खेतीमा साझेदार छन् । जापानमा रहेका तुलाचनको योजना अनुसार कागतीखेती सुरु गरिएको सापकोटाले बताए । फार्ममा उत्पादित कागती प्रशोधन गरी जापान निर्यात गर्ने लक्ष्य राखिएको छ । यसअघि उक्त खेतमा धान, मकै, कोदो र गहुँखेती गरिन्थ्यो । खाद्यान्न बालीको विकल्पमा कागतीखेती सुरु गरिएको हो ।

‘साँझबिहान र बिदाको समयमा बगैँचामा बिताउँछु । गोडमेल, काँटछाँट र मलजलका लागि कामदार परिचालन गर्ने गरेको छु,’ सापकोटाले भने, ‘फलफूल खेतीप्रति आकर्षण बढाउने र यसमा सम्भावना छ भन्ने देखाउने उद्देश्यले कागतीखेती गरेको हुँ ।’ सापकोटा विसं २०६३ देखि व्यावसायिक सुन्तला खेतीमा पनि संलग्न छन् । उनले सुन्तला बिक्रीबाट वार्षिक रु. पाँच लाख आम्दानी हुने बताए । जिल्लाकै ठूलो कागती फार्म भएको उनको दाबी छ ।

सेवा निवृत्त भएपछि व्यावसायिक फलफूल खेतीलाई थप विस्तार गर्ने सापकोटाको योजना छ । सापकोटाको प्रेरणाबाट बरञ्जाका किसानले पनि व्यावसायिक सुन्तलाखेती विस्तार गर्न थालेका छन् । स्थानीय बासिन्दासमेत रहेका संविधानसभा सदस्य गमबहादुर श्रीसले सापकोटाले किसानलाई फलफूलखेतीतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सुन्तला बगैँचा व्यवस्थापनसम्बन्धी तालिम दिँदै आएका छन् ।

‘कृष्णलाल सरले युवा र किसानलाई सुन्तलाजात फलफूल खेतीतर्फ आकर्षित गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ,’ श्रीसले भने, ‘मैले पनि राजनीति र सामाजिक कामबाट बचेको समय सुन्तलाखेती, बाख्रापालन र मौरीपालनमा लगाएको छु ।’ श्रीस अन्तरिम व्यवस्थापिका संसद् तथा संविधानसभाको पहिलो कार्यकालका सदस्य थिए ।

मङ्गला गाउँपालिकाका कृषि अधिकृत विमल रोकामगरका अनुसार नेपालमा समुद्री सतहबाट एक सयदेखि एक हजार ४०० मिटर उचाइसम्मका क्षेत्रमा कागतीखेती गर्न सकिन्छ । दैनिक आठदेखि १० घण्टासम्म घाम लाग्ने, वार्षिक ८०० देखि एक हजार मिलिमिटरसम्म वर्षा हुने र १० देखि ३५ डिग्री सेल्सियस तापक्रम रहने स्थान यसका लागि उपयुक्त मानिन्छ ।

पानी नजम्ने, हल्का दोमट र प्राङ्गारिक पदार्थ पर्याप्त भएको माटो कागतीखेतीका लागि उपयुक्त हुन्छ । कागती बालीमा जङ्गली जनावरबाट क्षति हुने जोखिम पनि तुलनात्मक रूपमा कम हुन्छ । नेपालमा सुनकागती–१, सुनकागती–२ र तेह्रथुम स्थानीय जातका कागतीखेती गरिँदै आएको कृषि अधिकृत रोकामगरले बताए ।

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते मंगलबार