२०८३ कात्तिक ११ , मंगलबार 27, October 2026, Tuesday

बाँकेमा तीव्र गतिका कारण अधिकांश सवारी दुर्घटना

बाँकेमा एक महिनामा भएका सवारी दुर्घटनामध्ये अधिकांशको कारण तीव्र गति देखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार असोजमा भएका १०५ वटा सवारी दुर्घटनामध्ये ९७ वटा तीव्र गतिका कारण भएका हुन् ।

दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने १९ जना गम्भीर र १३८ जना सामान्य घाइते भएका छन् । जिल्लाभर भएका दुर्घटनामा १५८ वटा सवारीसाधन सङ्लग्न थिए । तीमध्ये सात वटा दुर्घटना मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, एउटा यान्त्रिक गडबडी र अर्को दुर्घटना अन्य कारणले भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको यो तथ्याङ्कले बाँकेमा सडक सुरक्षाका लागि गति नियन्त्रण र ट्राफिक नियमको पालना प्रमुख चुनौती बनेको देखाउँछ । तीव्र गतिले चालकलाई आकस्मिक अवस्थामा सवारी नियन्त्रण गर्न कठिन बनाउँछ । केही मिनेट समय बचाउने उद्देश्यले गरिने लापरबाहीले चालक, यात्रु र पैदलयात्रुसमेत जोखिममा पर्ने गरेका छन् ।

दुर्घटनापछि हुने मानवीय क्षति, उपचार खर्च र परिवारमा पर्ने आर्थिक तथा सामाजिक असरलाई ध्यान दिँदा गति नियन्त्रणलाई प्रभावकारी बनाउन आवश्यक देखिन्छ । असोज महिनामा ट्राफिक नियमविपरीत सञ्चालन भएका एक हजार ८०४ सवारीसाधनलाई कारबाही गरी १४ लाख ५९ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार प्रहरीले शान्ति सुरक्षा कायम गर्न एक महिनामा एक हजार ९१२ पटक पिकेट र ३३७ पटक चेकिङ गरेको छ । नियमित चेकजाँच, गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कडाइ र सडक सुरक्षासम्बन्धी सचेतनालाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते मंगलबार