नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–०८४ को असोज महिनामा भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ ।
यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात पनि पुन: सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र)को तथ्याङ्क अनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात भएको छ । उक्त विद्युत बिक्रीबाट पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
असोज महिनामा भारततर्फ विद्युत निर्यात दुई माध्यमबाट गरिएको थियो । द्विपक्षीय विद्युत बिक्री सम्झौताअनुसार भारतको हरियाणा तथा बिहार राज्यमा विद्युत बिक्री गरिएको थियो भने बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजार (आइएक्स)को डे—अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत प्रत्येक वर्ष भारत एवम् बंगलादेशमा निर्यात गर्दै आएको छ ।
द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरियाणा तथा बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत बिक्री गरिन्छ । गत वर्ष २०८२ को असोज महिनामा भारततर्फ विद्युत निर्यातबाट चार अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । चालु आर्थिक वर्षको भदौमा यस्तो कारोबार रकम पाँच अर्ब नौ करोड २५ लाख रुपैयाँ रहेको थियो ।
यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार रकम ९६ करोड २० लाख रुपैयाँले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ । चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत आयोजनाको उत्पादन बन्द भए पनि असोज महिनामा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताए । उनका अनुसार असोज महिनामा भारततर्फ निर्यात गरिएको कुल विद्युत परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आइएक्समार्फत बिक्री गरिएको थियो ।
बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात पुन: सुरु
नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात गत शुक्रबार साँझदेखि पुन: सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो ।
बाढीका कारण द्विपक्षीय सम्झौता बमोजिम स्वीकृति प्राप्त जलविद्युत केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत निर्यात आंशिक रूपमा प्रभावित भएको थियो । भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुन: सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए ।
कार्यकारी निर्देशक श्रेष्ठले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा परेको असरका बाबजुद अन्य आयोजनाबाट विद्युत निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको निर्यात पुन: सुरु हुनु नेपालको विद्युत व्यापारका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । यसबाट वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको उनले बताए ।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको हो । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो ।
सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको ६ महिनाको अवधिमा दैनिक ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात हुँदै आएको छ । यसैबीच, भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत निर्यात अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत क्षमता करिब एक हजार १७९ मेगावाट पुगेको छ ।
