जिल्ला प्रहरी कार्यालय बाँकेमा असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता भएका छन् । प्रहरीका अनुसार जघन्य अपराधका १२, गम्भीर अपराधका ४६, सामान्य अपराधका ६९ र आर्थिक अपराधसम्बन्धी १६ मुद्दा दर्ता भएका हुन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ मुद्दासमेत दर्ता भई अनुसन्धान अघि बढाइएको छ । चालु मुद्दाका १७९ जना प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयनतर्फ ७० जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका प्रतिवादीबाट २० वर्ष छ महिना २१ दिन कैद तथा बिगो र क्षतिपूर्तिबापत ३४ लाख ११ हजार ७५३ रुपैयाँ असुलउपर गर्नुपर्ने देखिएको प्रहरीले जनाएको छ । अनलाइन जुवा तथा सट्टेबाजी नियन्त्रणमा पनि प्रहरीले कारबाही अघि बढाएको छ ।
कोहलपुर नगरपालिका–११ स्थित म्याक्स होटलको पाँचौँ तलामा अनलाइन जुवा खेलिरहेको अवस्थामा भारतका ४६ र नेपालका दुई गरी ४८ जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरूबाट जुवा खेल्न प्रयोग भएका ल्यापटप, मोबाइल फोन, डायरी तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानपछि अदालतमा मुद्दा पेस गरिएकामा बाँके जिल्ला अदालतको फैसलाबाट प्रतिवादीहरूलाई तीन महिना कैद र जनही १० हजार रुपैयाँ जरिबाना हुने निर्णय भएको प्रहरीले उल्लेख गरेको छ । लागुऔषध नियन्त्रणतर्फ असोजमा १९ मुद्दा दर्ता गरी ३१ जनालाई पक्राउ गरिएको छ । प्रहरीले ब्राउनसुगर, गाँजा, ट्रामाडोल र नाइट्रोजेपाम लगायत लागुऔषध बरामद गरेको जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षाका लागि प्रहरीले उद्धार, खोजतलास र उजुरीमाथिको कारबाहीलाई पनि प्राथमिकता दिएको छ । घरेलु हिंसासम्बन्धी उजुरीलाई मिलापत्र तथा कानुनी प्रक्रियामार्फत सम्बोधन गरिएको र हराएका तथा फेला परेका महिला, बालबालिका र ज्येष्ठ नागरिकको खोजतलास तथा उद्धारसम्बन्धी काम गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।
अपराध न्यूनीकरणका लागि विद्यालय तथा समुदायमा १०२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रममा दुई हजारभन्दा बढी पुरुष र एक हजार छ सयभन्दा बढी महिला लाभान्वित भएको प्रहरीले जनाएको छ । एक महिनाको समग्र विवरणले बाँकेमा अपराध नियन्त्रण, लागुऔषध रोकथाम, फैसला कार्यान्वयन र नागरिक सुरक्षाका क्षेत्रमा प्रहरी सक्रियता देखाए पनि सडक दुर्घटनाको जोखिम गम्भीर रहेको पुष्टि गर्छ ।
विशेषगरी १०५ दुर्घटनामध्ये ९७ वटामा तीव्र गति कारण देखिनुले सडक सुरक्षामा गति नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने देखाउँछ । प्रहरीको कारबाहीसँगै चालकको जिम्मेवार व्यवहार, ट्राफिक नियमको पालना र नागरिक सचेतना बढाउन सके मात्रै दुर्घटनाबाट हुने मानवीय क्षति घटाउन सकिने जानकारहरु बताउँछन् ।
