हिन्दुहरुको महान पर्व वडादशैं सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ । भारतमा रोजगारी गर्दै आएका नेपाली दशैंका लागि स्वदेश फर्किएपनि दशैं सकिए लगत्तै फेरी भारत जान थालेका हुन् । भारतसँग जोडिएको सुदूरपश्चिमको प्रमुख नाका कैलालीको गौरिफण्टाबाट पछिल्लो तीन दिनयता दैनिक दुई हजारदेखि तीन हजार नेपाली भारत जाने गरेको प्रहरीको भनाइ छ ।
‘भारत जाने नेपालीको यकीन तथ्यांक राख्ने गरिएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक(डिएसपी) योगेन्द्र तिमिल्सिनाले भने, ‘तर दशैंको दोस्रो दिनदेखि नै भारत जाने नपालीको चाप धेरै बढेको छ, दैनिक दुई हजारदेखि तीन हजार नेपाली भारततर्फ गइरहेका छन् ।’ भारतमा काम गर्दै आएका नेपाली छुट्टीमा दशंै मनाउन आउने गरेको र लगत्तै भारत फर्कनुपर्ने बाध्यता रहेको डिएसपी तिमिल्सिना बताउँछन् ।
सोमबार गौरिफण्टा नाका हुँदै भारत जाँदै गरेका बझाङका डम्बरबहादुर बोहराले भारतमै रोजगारी भएकाले दशंैलगत्तै भारत जानुपरेको वाध्यता सुनाए । ‘दशैं मनाउन नेपाल आएको हुँ,’ बोहराले भने, ‘दशैं सकियो अव फेरी भारत फर्कन थालेको हुँ ।’ आफु परिवारसहित भारत जान लागेको उनले बताए ।
‘म मात्र होइन परिवारसहित भारत जान थालेका छौं,’ उनले भने, ‘अव तिहार उतै मनाउने छौं ।’ सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकको प्रमुख रोजगारीको गन्तव्य भारत हुने गरेको छ । दशंै–तिहार जस्ता प्रमुख चाड मनाउन भारतबाट घर फर्केपनि यहाँका नागरिक पुन: भारतका विभिन्न शहरमा रोजगारीका लागि जाने गर्दछन् ।
