दसैंपछि आउने तिहारमा माटोको भाँडाहरुको माग अत्यधिक बढ्ने भएकाले सो माग पूरा गर्नका लागि अहिले नेपालगन्जका कुम्हाल समुदायलाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ छ । तिहार र छठमा माटोको दियो र अन्य भाँडाहरुको माग अत्यधिक हुने गरेकाले कुम्हाल समुदायमा भाँडा बनाउनेहरु केही दिनदेखि माटोको भाँडा बनाउनमा व्यस्त छन् ।
यतिबेला सो समुदायको अधिकांश मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् । तिहार र छठ पर्व नजिकिएकाले पूजाका लागि चाहिने दियो र अन्य माटाका भाँडाको माग अत्यधिक भएपछि भाँडा बनाउन रात दिन नभनी अहिले आफू व्यस्त रहेको अधिकांशको भनाइ छ ।
नेपालगन्ज–३ का कुम्हाल दिपक कुम्हालले आधुनिकता र नयाँ भाँडा बर्तनको चलनले माटोको भाँडाको चलन घट्दै गए पनि तिहारको बेला माग अत्यधिक हुने बताए । उनले तिहार र छठजस्ता चाडपर्वमा माटोको भाँडा खोज्नेहरु धेरै आउने गरेकाले आफूहरुले सोही बेलाका लागि अहिले भाँडा धेरै बनाउने गरेको बताए ।
नेपालगन्ज उपमहानगरपालिका वडा १३ का रमेश कुम्हालले अहिले यो पेशाबाट जीवन धान्न निकै समस्या भए पनि आफूले पुख्र्यौली पेशालाई निरन्तरता दिँदै माटाका भाँडाहरु बनाउने गरेको बताए । उनले पुर्खाहरुले गरेको कामलाई चटक्कै छोड्न नसकिने जनाउँदै अहिलेको युवा पुस्तामध्ये अधिकांशले यो पेशा छोडिसके पनि आफूले आफ्नो पुर्खाको संस्कृतिको रुपमा रहेको यो पेशा जोगाइराखेको बताए ।
चाडपर्वमा बजारको मागअनुसार सबैभन्दा बढी दियो विक्री हुने गरेकाले सबैभन्दा बढी दियो नै बनाउने गरेको वडा नम्बर १३ कै अर्का कुम्हाल दिपक कुम्हालको भनाइ छ । उनले अहिले आफूहरु घैटा, दियो, पाला, भुर्की बनाउन व्यस्त रहेको बताए । तिहारको समयमा मागअनुसार दियो पुगाउन नसकिने हुँदा अहिलेबाटै ठुलो संख्यामा दियो बनाउन सुरु गरेको उनले बताए ।
प्रतिदियो एक रुपिँयामा बेच्ने गरेको जनाउँदै दिपकले गत वर्षको तिहारका बेला आफूले मात्र ३० हजारभन्दा बढी दियो विक्री गरेको बताए । दसैं र तिहारको बेलामा नेपालगन्जको त्रिभुवन चोकमा धेरै जनाले माटोको भाँडा बिक्री गर्न आउने गरेका छन् । नगरको सदरलाइन, त्रिवेणी मोड, त्रिभुवन चोक र धम्बोझी चोकमा माटोको भाँडा विक्री बढी हुने गरेको छ ।
